-छत्र राेका मगर
कालीकोट — शुभकालीका गाउँपालिकामा विद्यालय पूर्वाधार सुधार तथा जलवायु–स्मार्ट कृषि (CSA) अभ्यासमार्फत शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा उल्लेख्य प्रगति देखिएको छ। स्थानीय सरकारसँगको सह–वित्तीय सहयोगमा सञ्चालन गरिएको कार्यक्रमले विद्यालयलाई सुरक्षित, सफा र जलवायु–प्रतिरोधात्मक बनाउनुका साथै साना तथा महिला किसानको आय र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पारेको छ।
कार्यक्रमअन्तर्गत गाउँपालिकाका २६ वटा विद्यालयको विस्तृत पूर्वाधार मूल्याङ्कन गरिएको थियो। सुरक्षा, समावेशिता, पहुँचयोग्यता र जलवायु जोखिमका आधारमा गरिएको मूल्याङ्कनपछि ६ वटा विद्यालयलाई प्राथमिकताका साथ हस्तक्षेपका लागि छनोट गरिएको हो। यसले तथ्य–आधारित योजना निर्माण र स्रोतको प्रभावकारी उपयोगमा सहयोग पुगेको छ।
छनोट गरिएका विद्यालयमध्ये जनता माध्यमिक विद्यालय (छाती), कालिका माध्यमिक विद्यालय (भार्ता) र दाहाल माध्यमिक विद्यालय (सुकिटिया) मा WASH सुविधासहित तीनवटा नयाँ शौचालय निर्माण गरिएको छ। यसबाट विशेषगरी छात्रा तथा अपाङ्गता भएका बालबालिकाको सरसफाइमा पहुँच सुरक्षित बनेको छ। त्यसैगरी नैनलदेव माध्यमिक विद्यालयमा दुई वटा ECCD कक्षाकोठा मर्मत गरिएको छ भने दुई विद्यालयमा खानेपानी स्टेशन र दुई विद्यालयमा इन्सिनरेटर स्थापना गरिएको छ।
यी पूर्वाधार सुधारबाट कुल १,४५० विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्, जसमा ७६६ छात्रा र ६८४ छात्र रहेका छन्। लाभग्राहीमध्ये दलित, जनजाति तथा ब्राह्मण/क्षेत्री समुदायका विद्यार्थी समावेश छन्।
यसैबीच, नमुना हरित विद्यालयको अवधारणाअन्तर्गत जनाज्योति माध्यमिक विद्यालय र नैनलदेव आधारभूत विद्यालयमा ऊर्जा–दक्ष प्रविधि जडान गरिएको छ। सन् २०२५ मे महिनामा ५०० लिटर क्षमताको सौर्य ऊर्जाबाट चल्ने पानी शुद्धीकरण प्रणाली स्थापना भएपछि विद्यार्थीहरूले सुरक्षित खानेपानीको प्रयोग गरिरहेका छन्। स्थानीय सरकारले यस प्रविधिलाई अन्य विद्यालयमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

विद्यालय सुधारसँगै किसानको जीविकोपार्जन सुदृढ बनाउन जलवायु–स्मार्ट कृषि कार्यक्रम पनि प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ। गाउँपालिकाका तीन क्लस्टरमा तीनवटा नमुना CSA फार्म स्थापना गरिएका छन्। २२ वटा गोठ सुधार, जैविक मल तथा कीटनाशक उत्पादन, मशरूम खेती, सुधारिएको बाली तथा पशुपालन अभ्यासमार्फत किसानको उत्पादन र आम्दानी बढेको छ।
कार्यक्रमबाट ७० किसान प्रत्यक्ष लाभान्वित भएका छन्, जसमा ५१ महिला रहेका छन्। महिला किसानको नेतृत्वदायी सहभागिताले समावेशीता र सशक्तिकरणलाई थप बल दिएको छ। किसान समूहलाई प्लास्टिक टनेल, ड्रिप सिँचाइ, सुधारिएको बिउ तथा महिला–मैत्री उपकरणसमेत उपलब्ध गराइएको छ।
CSA अभ्यासका कारण किसानको आय बढेसँगै बालबालिकाको शिक्षा, पोषण र विकासमा लगानीसमेत उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। सन् २०२५ मा किसान समूहहरूले आम्दानीको ४० देखि ५० प्रतिशतसम्म रकम बालबालिकाको कल्याणमा खर्च गरेका छन्।
यसका साथै बाख्रा पालन, कुखुरा पालन, होटल व्यवसाय र तरकारी खेतीजस्ता सूक्ष्म उद्यममार्फत लाखौँ रुपैयाँ आम्दानी भएको छ। किसानलाई स्थानीय सरकार, बजार तथा विद्यालय मध्याह्न भोजन कार्यक्रमसँग जोडेर स्थानीय मूल्य शृंखला मजबुत बनाइएको छ।
समग्रमा, शिक्षा, स्वास्थ्य, वातावरण र जीविकोपार्जनलाई एकैसाथ सम्बोधन गर्ने यस कार्यक्रमले शुभकालीका गाउँपालिकामा दीगो विकासतर्फ महत्वपूर्ण कदम चालेको स्थानीयवासीको भनाइ रहेको छ।




तिलाप्रेस । १६ चैत्र २०८२, सोमबार १२:३३