कालिकोट जिल्ला अस्पतालमा दुई आपतकालीन शल्यक्रिया सफल

कालिकोट जिल्ला अस्पतालमा हिजो दुईवटा आपतकालीन शल्यक्रिया (अपरेसन) सफलतापूर्वक सम्पन्न भएका छन् । डाक्टर रत्नवीर सुनारको नेतृत्वमा गरिएको उक्त शल्यक्रियाबाट आमा र शिशुको ज्यान जोगाउन सफल भएको अस्पतालले जनाएको छ । पहिलो घटनामा खाडाचक्र नगरपालिका घर भई मान्म बजारमा बस्दै आएकी २२ वर्षीया महिलाको बच्चाको तौल अत्यधिक हुनुका साथै घाँटीमा साल बेरिएको कारण सामान्य प्रसूति सम्भव नभएपछि आपतकालीन शल्यक्रिया गरिएको थियो। उक्त शल्यक्रियाबाट आमा र शिशु दुवैलाई सुरक्षित राख्न सफल भएको डा रत्नविर सुनारले बताउनु भयो । त्यसैगरी दोस्रो घटनामा नरहरनाथ गाउँपालिका–९ निवासी १९ वर्षीया महिला रिफर भई अस्पताल आएकी थिइन्। अस्पताल आउँदा बच्चाको धड्कन नभएको, अत्यधिक रक्तश्राव भएको तथा रक्तचाप र हेमोग्लोबिनको मात्रा निकै कम रहेको अवस्थामा चिकित्सक टोलीले आपतकालीन उपचार तथा शल्यक्रिया गरी आमाको ज्यान बचाउन सफल भएको बताइएको छ ।

उक्त कार्यमा डाक्टर कर्णराज भाम, स्टाफ नर्सहरू बबिता ठाकुर, मनिषा न्यौपाने, कविता शाही, एनेस्थेसिया ,बिरवल चौधरी, हेल्पर चन्दा शाही, ल्याबका प्रदीप शाही, इमर्जेन्सीका लोकेन्द्र बोहरा, हेमन्त बिक तथा मेटर्निटीकी भावना भण्डारी लगायतको महत्वपूर्ण योगदान रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया