जोखिममा रहेका समुदायलाई राहत : शुभकालिकामा चप्पल वितरण

कालिकोट — शुभकालिका गाउँपालिका वडा नं. २ र ३ का जोखिममा रहेका बालबालिका, महिला, एकल महिला तथा वृद्ध वृद्धालाई लक्षित गरी चप्पल वितरण गरिएको छ। विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक प्रभाव पारेको छ।

कार्यक्रम शुभकालिका गाउँपालिका वडा नं. २ का युवा नेता तथा समाजसेवी प्रकाश बहादुर शाहीको आर्थिक सहयोगमा सम्पन्न भएको हो भने शुभकालिका गाउँपालिका खेलकुद समिति अध्यक्ष तथा युवा नेता बिनोद बहादुर शाहीको पहल र नागरिक समाजका अगुवा तथा समाजसेवी पत्रकार छत्र रोका मगरको समन्वयमा सञ्चालन गरिएको हो। उक्त अभियान अन्तरगत गोठिमुला, राजबाडा, भाउसैन लगायतका बस्तीहरूमा प्रत्यक्ष पुगेर चप्पल वितरण गरिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा युवा अभियन्ता हेमन्त अधिकारी, हिक्मत अधिकारी लगायत अन्य स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले घरदैलोमै पुगेर बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई चप्पल वितरण गरेका थिए, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्।

समन्वयकर्ता छत्र रोका मगरले भने, “हामीले सानो सहयोगमार्फत पनि समुदायमा ठूलो सन्देश दिन सकिन्छ भन्ने विश्वासका साथ यो अभियान सञ्चालन गरेका हौँ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना छ राेकाले बताए ।

त्यसैगरी,युवा नेता बिनाेद बहादुर शाहीले “वास्तविक आवश्यकतामा रहेका समुदायलाई सानो सहयोगले पनि दैनिक जीवनमा सहजता ल्याउन सक्छ भन्ने सोचले यो कार्यक्रम गरेका हौँ” भन्दै यस्ता अभियानलाई विस्तार गर्नुपर्नेमा जोड दिए।

स्थानीयवासीहरूले पनि सहयोगप्रति आभार व्यक्त गरेका छन्। एक स्थानीय महिलाले भनिन्, “हामीजस्ता विपन्न परिवारका लागि यस्ता सहयोग अत्यन्त उपयोगी हुन्छन्। यसले हाम्रो दैनिकीमा सहजता ल्याएको छ।”

यस्तै, अर्का एक ज्येष्ठ नागरिकले “सामाजिक रूपमा एकआपसमा सहयोग गर्ने संस्कारले समाजलाई बलियो बनाउँछ। यस्तो काम निरन्तर हुनुपर्छ” भन्दै खुसी व्यक्त गरे।

यस्तै शुभकालिका गाउँपालिका वडा नं ३ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा पुगि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद जैसी प्रधानाध्यापक तुलाराम धिताललाई विद्यार्थीहरूलाई अतिरिक्त खेलकुदका सामग्रीहरू आवश्यक पर्ने भएकाले  फुटबल  हस्तान्तरण गरिएको थियो।

यस प्रकारका सामाजिक अभियानहरूले समुदायमा सहकार्य, सहयोग र मानवीय भावनालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। साथै, साना पहलहरूले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने सन्देश यस कार्यक्रमले प्रवाह गरेको स्थानीयहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया