– छत्र राेका मगर
कालिकोट — भिडिसेफ नेपाल कालिकोटले शुभकालिका गाउँपालिकाका वडा नं. १ देखि ८ सम्म जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ।

गाउँपालिकाभरि जलवायु संकटा संन्नता तथा क्षमता मूल्यांकन (Climate Vulnerability and Capacity Assessment – CVCA) सम्पन्न गरिनुका साथै समुदायको सक्रिय सहभागितामा जलवायु जोखिम, संवेदनशीलता तथा अनुकूलन क्षमताको पहिचान गर्ने कार्य अघि बढाइएको छ।
कार्यक्रमअन्तर्गत स्थानीय समुदाय, जनप्रतिनिधि, महिला समूह तथा युवाहरूलाई समेट्दै जलवायु परिवर्तनका असर र त्यसबाट जोगिने उपायबारे सचेतना अभिवृद्धि गर्ने गतिविधिहरू सञ्चालन भइरहेका छन्। यसले समुदायस्तरमै जलवायु सचेतना वृद्धि हुनुका साथै स्थानीय समस्या पहिचानमा समेत सहयोग पुगेको जनाइएको छ।


भिडिसेफ नेपाल कालिकोटकी अध्यक्ष कल्पना रावलका अनुसार, “CVCA मार्फत प्राप्त तथ्याङ्कका आधारमा अब प्रत्येक वडाको स्थानीय आवश्यकता र सन्दर्भअनुसार जलवायु अनुकूलन योजना निर्माण गरिनेछ।” उनका अनुसार यस प्रक्रियाले समुदायको सहनशीलता अभिवृद्धि गर्दै दीगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, भिडिसेफ नेपाल कालिकोटका जलवायु परिवर्तन तथा हरित रोजगार कार्यक्रम संयोजक दमराज सञ्जालले शुभकालिका गाउँपालिकामा जलवायु परिवर्तनको प्रभाव उल्लेखनीय रूपमा देखिएको बताएका छन्। “यस क्षेत्रमा वर्षा प्रणालीमा परिवर्तन, सुख्खा तथा प्राकृतिक विपद्का घटना बढ्दो क्रममा छन्,” उनले भने, “यस्ता चुनौती सामना गर्न समुदायलाई सक्षम बनाउन भिडिसेफ नेपालले महत्वपूर्ण भूमिका खेलिरहेको छ।
गाउँपालिकाका सबै वडामा एकैसाथ यस्ता कार्यक्रम सञ्चालन हुनुले स्थानीय तहको जलवायु अनुकूलन क्षमता थप सुदृढ बन्ने विश्वास गरिएको छ। साथै, यस पहलले दीर्घकालीन रूपमा समुदायलाई जलवायु परिवर्तनका जोखिमसँग जुध्न सक्षम बनाउने अपेक्षा गरिएको छ।




तिलाप्रेस । १० चैत्र २०८२, मंगलवार ११:२६