कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ पुलाँहामा जन्मिएकी देउडा कलाकार जर्मा भण्डारी सानैदेखि देउडा संस्कृतिमा सक्रिय रहँदै आएकी छन्। करिब १४–१५ वर्षको उमेरबाट देउडा खेल्न थालेकी उनले उपाध्यवाडा क्षेत्रमा आयोजित जात्राबाट औपचारिक यात्रा सुरु गरिन्। चर्चित देउडा खेलाडी नेत्रराज शाहीसँगको पहिलो मञ्चीय सवाल–जवाफपछि उनी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा परिचित भइन्।


मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा सक्रिय उनी कालिकोटसहित हुम्ला, जुम्ला, मुगु, बाजुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर, दैलेख र अछाममा देउडा प्रस्तुत गरिसकेकी छन्। वि.सं. २०७६ मा ‘कर्णाली सेती को’ शीर्षकको एल्बम रेकर्ड गरे पनि उनले स्टुडियोभन्दा लाइभ देउडालाई प्राथमिकता दिँदै आएकी छन्। हाल बाँकेस्थित लोक देउडा सांस्कृतिक प्रतिष्ठानको सचिव रहेकी भण्डारी देउडाको मौलिकता जोगाउने अभियानमा सक्रिय छिन्। साधारणता, साहित्यिक सवाल–जवाफ शैली र दर्शकमाझ प्रत्यक्ष प्रस्तुति नै उनको मुख्य पहिचान बनेकाे छ ।




तिलाप्रेस । ३ फाल्गुन २०८२, आईतवार ०९:२२