कालिकोट रास्कोट नगरपालिकाको आयोजनामा मतदाता शिक्षा स्वयंसेवकहरूका लागि एक दिवसीय तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नगर कार्यपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न वडाबाट खटिएका स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको टिकाराज उपाध्यायले जानकारी दिनुभयाे ।
कार्यक्रमको सहजीकरण निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज शाही र मतदाता शिक्षा अनुगमनकर्ता नेत्र राज शाहीले संयुक्त रूपमा गर्नुभएको थियो।तालिमका क्रममा मतदान प्रक्रिया, प्रत्यक्ष तथा समानुपातिक मतपत्र प्रयोग विधि, मत बदर हुने अवस्था तथा त्यसबाट जोगिने उपाय निर्वाचन आचारसंहिता र मतदान केन्द्र व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको बताएको छ ।

सहभागी स्वयंसेवकहरूले प्रशिक्षण कार्यक्रम उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीले स्वच्छ, निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले मतदाता सचेतना अभिवृद्धि तथा बदर मत न्यूनीकरणमा स्वयंसेवकहरूको योगदान निर्णायक रहने विश्वास व्यक्त गर्दै जिम्मेवारीपूर्वक र सक्रियतापूर्वक कार्य गर्न आग्रह समेत गर्नुभयो।




तिलाप्रेस । २ फाल्गुन २०८२, शनिबार १६:५५