कालिकोट : फागुन ४ गतेदेखी ९ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी ज्एख् खोप अभियान संचालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम अन्तर्गत कालिकोट जिल्लामा पनी दुई भागमा विभाजन गरि चरणबद्ध रुपमा खोप सञ्चालन गरिने भएको छ । आ.ब. २०८२÷८३ का लागि तय गरिएको उक्त कार्यक्रम मार्फत लक्षित समूहका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिने स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।
जिल्लामा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी, साथै गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्मका छात्रा र ११ देखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरी गरी जम्मा १ हजार ८ सय १३ जनालाई खोप लगाउने लक्ष्य राखिएको र यसका लागि जिल्लाभर १ सय ३२ वटा खोप केन्द्र तोकिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।
कार्यक्रममा सहभागी डा. कमल भण्डारीले पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ भन्ने विषयमा जानकारी दिँदै नेपालमा महिलामा हुने क्यान्सरमध्ये ठूलो हिस्सा यही रोगका कारण हुने समेत औंल्याउनु भयो ।


त्यसैगरी पहिलो चरणको खोप फागुन ४ र ५ गते पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकामा सञ्चालन गरिने छ भने दोस्रो चरणको खोप फागुन ८ र ९ गते तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा खोप सेवा प्रदान गरिने छ ।खोप अभियान सञ्चालनको तयारीस्वरूप स्वास्थ्य सेवा कार्यालयले सरोकारवाला निकाय तथा सञ्चारकर्मीलाई सहभागी गराई अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक धनजित बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महतले अभियानबारे जानकारी गराएका थिए।




तिलाप्रेस । २५ माघ २०८२, शनिबार १७:०८