छत्र राेकामगर कालिकोट : जिल्लाकाे शुभकालिका गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा अपाङ्गता सम्बन्धी तीन दिने तालिमको उद्घाटन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग सेभ द चिल्ड्रेनसँगको साझेदारी तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) द्वारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको अध्यक्षता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज आचार्यको विशेष उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष आचार्यले समावेशी शिक्षा अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, “समावेशी र समानतामूलक शिक्षा बिना दिगो विकास सम्भव छैन। यस्तो तालिमले विद्यालय र समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएका छौँ।
शिक्षायुवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा गाउँपालिकाका तीनवटै नमुना विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा लैङ्गिक फोकल शिक्षकहरूको सहभागिता रहेको समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका शिक्षा अधिकृत टोपाराम चौलागाईले जानकारी दिनुभयो। उहाँका अनुसार तालिमले विद्यालय तहमा समावेशी शिक्षा प्रणालीलाई व्यवहारमा लागू गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्नेछ।
तीन दिनसम्म सञ्चालन हुने तालिमले शैक्षिक क्षेत्रमा समानता र समावेशिता कायम गर्दै सबै वर्ग, समुदाय तथा अपाङ्गता भएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने, साथै लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। तालिम अवधिमा नेपालको राष्ट्रिय शिक्षा नीति तथा समावेशी शिक्षाको मार्गचित्र, अपाङ्गताको परिभाषा र वर्गीकरण, पहुँचयुक्त वातावरण सम्बन्धी सरकारी मापदण्ड, विद्यालय व्यवस्थापन समितिको भूमिका, नमुना विद्यालय तथा स्रोतकेन्द्र, पहुँचयुक्त शैक्षिक सामग्री समावेशी शिक्षाको महत्व, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायत विषयमा छलफल र अभ्यास गरिने आयोजकले जनाएको छ। साथै अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धीका धारा ७, ९, १९ र २४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ बारे पनि जानकारी दिइनेछ।अन्तर्राष्ट्रिय सहयोग र स्थानीय सहकार्यको संयुक्त प्रयासमा सञ्चालन भएको यो तालिमले शुभकालिका गाउँपालिकाको शैक्षिक विकासलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





तिलाप्रेस । २४ माघ २०८२, शुक्रबार २१:०१