कालिकोट राजनीतिक विश्लेषक, सामाजिक अभियन्ता तथा दलित अधिकारकर्मी दलसिंह कुमालले केही राजनीतिक नेताबाट आएको दलितको भोट किन्न मिल्छ, भन्ने भनाइ वा अभिव्यक्तिलाई लोकतन्त्रविरोधी भन्दै कडा आपत्ति जनाएका छन् ।

कुमालले उक्त अभिव्यक्तिले दलित समुदायमाथि भइरहेका संरचनागत असमानता, लोकतन्त्रको अवमूल्यन र राजनीतिक संस्कृतिको संकट उजागर गर्ने उहाँको भनाइ छ । उनका अनुसार ऐतिहासिक रूपमा पछाडि पारिँदै आएको दलित समुदायको कमजोर अवस्थालाई प्रयोग गरेर भोट किन्ने सोच राजनीतिक शोषणको मानसिकताको प्रतिबिम्ब हो उनले भने, भोट नागरिकको चेतन निर्णय हो कुनै वस्तु होइन,भोटलाई किनबेचको विषय बनाउनु भनेको लोकतन्त्रलाई बजारमा झार्नु हो।

कुमालका अनुसार यस्ता अभिव्यक्तिले केही राजनीतिक नेताहरू अझै पनि जवाफदेही र नीतिनिष्ठ राजनीतिभन्दा नियन्त्रणमुखी राजनीतिमा विश्वास गर्ने प्रवृत्तिमा रहेको देखाउँछ। यदि यस्तो प्रवृत्ति निरन्तर रहिरहने हाे भने जनविश्वास थप कमजोर हुँदै जाने उनको भनाइ छ। उनले यो विषय दलित समुदायको मात्र नभई समग्र लोकतन्त्रको सवाल भएको उल्लेख गर्दै नागरिक तहबाट यस्ता अभिव्यक्तिको आलोचना र सचेतनाको आवश्यकता औंल्याएका छन्। दलितको मत दया होइन, अधिकार हो। पैसाले चुनाव जित्न सकिएला, तर न्यायले मात्र इतिहास जितिन्छ,कुमालले बताएका छन्। दलित अधिकारकर्मी तथा पत्रकार कुमालले उक्त धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।




तिलाप्रेस । १५ माघ २०८२, बुधबार १०:१४