कालिकोट : स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा नियमित खोपअन्तर्गत महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको HPV खोप सञ्चालन सम्बन्धी जिल्लास्तरीय सूक्ष्म योजना तर्जुमा तथा अभिमुखीकरण गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका शिक्षा तथा स्वास्थ्य शाखा प्रमुख, खोप फोकल पर्सन, स्वास्थ्य सेवा कार्यालयका कार्यक्रम फोकल पर्सन, चिकित्सक तथा स्वास्थ्यकर्मी साथै विकास साझेदार संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे ।
गोष्ठीको निर्णयअनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा १० वर्ष उमेरका किशोरीहरूलाई साथै गत वर्ष खोप लगाउन छुटेका कक्षा ७–१० का छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई HPV खोप प्रदान गरिने डा: रत्न वीर सुनारले जानकारी दिनुभयाे ।
खोप कार्यक्रम पलाता,पचालझरना,रास्कोट,सान्नीत्रिवेणी, नरहरीनाथ, शुभकालिका र खाडाचक्र नगरपालिकामा २०८२ फागुन ४ र ५ गते तथा तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा फागुन ८ र ९ गते सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयाे ।

साथै प्राविधिक सहयोगका लागि WHO/OPD का डा. सौगात भण्डारी र WaterAid का विशाल भण्डारीप्रति विशेष आभार प्रकट गरिएको स्वास्थ्यसेवा कार्यालय कालिकोटले जनाएको छ ।




तिलाप्रेस । १४ माघ २०८२, मंगलवार ०९:०६