कालीकोटः मातृ तथा पेरिनेटल मृत्यू निगरानी तथा प्रतिकार्य (MPDSR) कार्यक्रमलाई समुदाय स्तरमा निरन्तरता तथा विस्तार गर्ने उद्देश्यका साथ सरोकारवाला निकाय र MPDSR समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक डा. रत्नवीर सुनारको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयाल, प्रहरी नायब उपरीक्षक हेम बहादुर खत्री, जिल्ला समन्वय समितिका सदस्य अजय बम, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोगन मल्ल, नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरत राज विष्ट, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै डा. सुनारले कालीकोटजस्ता दुर्गम जिल्लामा स्वास्थ्य सेवाको पहुँच तथा स्रोतसाधन अझै पर्याप्त हुन नसकेको बताउनुभयो। उहाँले सरकारले यस्ता जिल्लाको स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राखी जनशक्ति, पूर्वाधार तथा सेवामा थप सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अभिमुखीकरण कार्यक्रममा मातृ तथा पेरिनेटल मृत्यू न्यूनीकरणका लागि समुदाय स्तरमै प्रभावकारी निगरानी, मृत्यूका कारणको समीक्षा तथा समयमै प्रतिकार्य गर्ने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा डा. महालक्ष्मी प्रजापतीले MPDSR कार्यक्रम मातृ तथा नवजात शिशुको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको निरन्तरता र विस्तार अपरिहार्य रहेको समेत बताउनुभयो।






तिलाप्रेस । १ माघ २०८२, बुधबार १६:५९