जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा त्याग, तपस्या र बलिदानको प्रतीक – मेरो साहिँलो दाइ

लेखकः हंश कुमाल (कान्छोभाइ):  देशकै दुर्गाम क्षेत्र कर्णाली प्रदेशमा पर्ने कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं.२, सुनेपानीमा एक सामान्य किसान परिवारमा वि सं २०४० साल असार १५ गतेका दिन स्वर्गिय वुवा नरे कुमाल र आमा साउनी कुमालको साहिँलो छोराको रुपमा जन्मिनु भएको आदरणीय दाजु विवेक हाम्रो संयुक्त परिवारमा हुर्किनु भएको थियो । हाम्रो बाजेको पाँच छोराहरुको सगोल परिवार बिबाहित फुपु, दिदि र बहिनीहरुलाई छोडेर गणना गर्दा लगभग ६० सदस्यीय छ । दुई वटा दाइ, एउटा बहिनी र एउटा भाइ सहित उहाँको हुर्काई, बढाई, पढाई र वाल्यकाल यही संयुक्त परिवारमा रास्कोटमै सामान्य तरिकाले पुरा भएको हो । उहाँ सानैदेखि जिम्मेवार, कर्तव्यनिष्ठ र साहसी हुनुहुन्थ्यो । उहाँमा रास्कोटको आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय परिवेश र संयुक्त परिवारमा आफ्नो जिम्मेवारी, दायित्वलाई प्रभावकारी रुपमा पुरा गर्ने, समाजमा हुने विविध खालका शोषण, दमन, अन्याय, अत्याचार लगाएतका विकृति विसंगतिहरुलाई निर्मूल गर्न संगठित हुने, सचेत हुने जस्ता गुणहरु थिए ।

सामान्यतया, साधारण मानिस जस्तै उहाँको पनि विभिन्न क्षेत्रमा अभिरुचि, रहर, सपनाहरु पक्कै थिए होलान् । धेरै पढ्ने, ठूलो मान्छे बन्ने, डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, साहित्यकार, राजनितिज्ञ आदि इत्यादी…। यस खालका आफ्ना इच्छा चाहनालाई पूर्णता दिन र असल मान्छे बन्न पर्यत्नशिल हुँदै गर्दा विद्यार्थी कालमै १६ वर्षिय कलिलो अवोध उमेरमा विद्यालयको हाताबाटै सामाजिक शोषण अन्याय अत्याचारका विरुद्ध निर्भिक रुपमा सचेतनाका साथ नेपाली समाजको अग्रगमन र रुपान्तरणका लागि सदैब क्रियाशील हुने गरी सामाजिक सांस्कृतिक क्षेत्रमा देखिएका विभिन्न विकृतिजन्य अवस्थाको पर्दाफास, राजनीतिक क्षेत्रमा देखिएका विभिन्न विकृतिहरू, समाजमा जातीयताका नाममा फैलिएका विभिन्न गतिविधि तथा सामाजिक कुरीति, अन्धविश्वास, रुढीवादी सोचको विरोध गर्न, सामाजिक, आर्थिक, लैङ्गिक, वर्गीय, जातीय एवम् साम्प्रदायिक सबै खाले विभेदका विरुद्ध आफुलाई प्रखर रूपमा प्रस्तुत गर्न र जहानिया निरंकुश राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभिलाशाका साथ २०५६ साल जेठ २८ गतेदेखि पूर्णकालिन रुपमा जनयुद्धमा लामबद्ध भई नेकपा माओवादी सिपखाना गाउँ कमिटी सदस्य र २०५६ साल साउन ४ गतेदेखि हिमचुली छापामार दल सदस्य भई आफ्नो यात्रा तय गर्नु भएको थियो ।

सादा जीवनशैली निर्वाह गर्न रूचाउने, सामान्य लुगाकपडा लगाउन मन पराउने, सामान्य दाल, भात तरकारी मन पराउने, निरन्तर अध्ययन तथा लेख–पढ गर्ने र समाजलाई केही नयाँ कुरा दिउँ भन्ने चाहाना, साथीभाइ, छरछिमेक र घरपरिवारसँग सधैँ मिलेर बस्नुपर्छ भन्ने सोच, कसैसँग नझुक्ने, कसैले अपहेलना गरेको र हेयको दृष्टिले हेरेको पटक्कै नसहने स्वाभाव, निर्भिक, साहसी, कर्मशील, धैर्यवान, संघर्षशिल, भौतिकवादी, कुसंस्कारको विरोधी चेतना उहाँमा भएकै कारण पार्टीले सुरुमै जनमुक्ति सेनाको सैन्य मोर्चामा सामेल गरी विभिन्न लडाई, दोहोरो भिडन्त तथा सैन्य कमिसारको नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पेको थियो ।

मिति २०५७।०९।२७ गते कालिकोट जिल्लाको उच्च राजनितिक नेतृत्वसहितको उपस्थितिमा आमसभा कार्यक्रम तय भएको थियो । सुराकी मार्फत उक्त कार्यक्रमस्थललाई साविक स्यूना गा.वि.स. को मौलाकोटमा अस्थायी क्याम्प खडा गरी बसेको दंगा प्रहरीले कार्यक्रमस्थल घेराहाली आक्रमण गर्दा दोहोरो भिडन्त भएको थियो । करिव ७०–८० जना आधुनिक हातहतियार र बन्दोबस्तका सामग्री सहित खटिएका दंगा प्रहरीसंग कमरेड विवेकको टिमले साहसीपूर्ण लडाई लडी आमसभामा सहभागि सर्वसाधारण जनता,पार्टी कार्यकर्ता र साँस्कृतिक समूह (कलाकार टिम) लाई सकुशल जोगाएर सुरक्षित स्थानतर्फ पठाई नेताहरुको सुरक्षा गर्दै गर्दा दंगा प्रहरीको गोली दुइटै हातमा लागि कमरेड विवेक घाइते भएपछि प्रहरीले तत्कालिन कर्णाली राष्ट्रिय मुक्तिमोर्चाको संयोजक तथा इलाका इन्चिार्ज विश्वनाथ योगी र जिल्ला पार्टी बरिष्ठ सदस्य तथा इलाका इन्चार्ज पुष्प न्यौपाने सहित छापामार सदस्य मदन गरी ३ जनाको हत्या गरेको थियो । साँझको करिव ५ बजेसम्म दंगा प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको र हत्या गरेका नेताहरुको साथमा रहेका महत्वपूर्ण दस्तावेज र सरसामान बरामत गरी करिव ५ः३० बजे घटनास्थल छोडी व्यारेक तिर फर्केपछि आम जनता र पार्टी कार्यकर्ता जुटेर हत्या गरिएका सहिदहरुको दाहसंस्कार गर्ने, घाइते भएका र सम्पर्क छुटेका साथिहरुको खोजिगर्ने क्रम सुरु भएको थियो । पुस महिनाको जाडोसंगै नेतृत्व गुमाएको पीडाले मर्माहत हुदै सहिदहरुको अन्तिम संस्कार गर्दै रात वितेको पत्तै भएन । साथिहरु सम्पर्कमा आउने क्रम जारी नै थियो । कोही घाइतको उपचार व्यवस्थापन गर्दै थिए त्यसैवेला एकजनाले सुनाए कमरेड विवेक सम्पर्कमा आउनु भएको छैन । कतिपयलाई लाग्यो उहाँलाई कि त प्रहरीले कब्जामा लग्यो कि त उहाँको पनि हत्या गरिसक्यो । केही साथिहरुले भने हैन हामीले घटनास्थल वरिपरि राम्रोसंग खोज तलास गरौं कि लास कि स्वाँस त अवस्य भेटिन्छ होला । सबैले हो मा हो मिलाए ।

सबै कुरा व्यवस्थापन गर्दैमा भोलिपल्ट भैसकेको थियो । कोही दुस्मन आउने नाकामा सेन्ट्री बसेका थिए त कोही खाना खाजको जोहो गर्दै थिए । कोही भने घाइतेको साथमा खटिएका थिए ।पूर्व राष्ट्रिय सभा सदस्य तथा हाल नेपाली कम्युनिष्ट पार्टी कालिकोट जिल्ला इन्चार्ज तत्कालिन प्लाटुन कमाण्डर कमरेड जीवन बुढाको नेतृत्वमाप्लाटुन जुटेको थियो कमरेड विवेकको खोजिमा । थोल्मको भिरालो र चट्टानी पहाड, कर्णालीको खोंच । कर्णाली नदिले चिसो सिरेटो फुकोट र नानिकोटका बस्सीसम्म पु¥याइरहन्थ्यो । खोला र खोल्साले जमिन भासिएको पहाड र कोट तथा थुम्काहरुले सूर्यको प्रकाशलाई छेकीदिन्थे । जहाँ कमरेड विवेक ढलिरहनुभएको थियो त्यो स्थान कार्यक्रमस्थल भिडन्त भएको ठाउँ देखि करिव ५०० मिटर टाढा थियो । दुवै हातमा गोली लागेपछि भिरालो चट्टानी पहाडमा अडिन सक्ने कुरै भएन । लहरा र पहराको सहायता लिएर अडिनलाई दुबै हात नभएपछि सिलिण्डर आकारमा पल्टिनु बल्ड्याङ खानुको विकल्प थिएन कमरेड विवेकलाई । यसरी ५०० मिटरको दुरीमा कति बल्ड्याङ खानुपर्यो होला । बल्ड्याङ खादै घर्सिदै दुई ढुङ्गा वीचको खोंचमा पछारिएर अडिएपछि भने कमरेड विवेक पूर्ण रुपामा अचेत हुनु भएछ । करिव १ बजेबाट सुरु भएको भिडन्त ४ बजेसम्म चलिरह्यो । ४ बजेपछि यसरी लडेको विवेक करिव २४ घण्टापछि अर्को दिन दिउसो ४ बजे फेला पर्छन् ।

जुन समूहले विवेको खोजि गरिरहेको थियो, खोज्दै जादा सुरुमा एउटा जुत्ता भेटेछ। ए कमरेड हेर्नुस् त यता रगतले लत्पत्तेको जुत्ता छ । यो पक्कै पनि कमरेड विवेको हुनुपर्छ ।सवै जना एक साथ भएर भन्छन् कमरेड यहीं वरपर खोजौं । वरपर रगतका टाटा, भासिएको माटो नै उहाँहरुको खोज्ने आधार र भेट्ने आशा थियो । जुत्ता भेटिएको केही मिटर पर २४ घण्टादेखि छटपटाइरहेको, अचेत, अर्धचेत, रगताम्मे अवस्थामा भिरालो र चट्टानी पहाडमा दुई ढुंगा वीचको खोंचमा अडिएको साहसिक योद्धा कमरेड विवेकको भौतिक शरिर थियो ।सवैजना साथिहरु निशव्द भए । खुशीका आँशु छछल्किए । दरो मुट्ठी कसे र भने कमरेड विवेक । दुवै हातलाई गोलीले छिया छिया पारेको, निधारमा गहिरो चोट, रगताम्मे शरिर, २४ घण्टादेखि छटपटाहट, प्यासले प्याकप्याक्ती सुकेको मुख, पुसमासकमो जाडोले कठ्याङ्ग्रीएको शरिर देख्ने वित्तीकै साथिहरु भाव विहोल भए, आँखा रसाए । सुनसान एकान्त, डरलाग्दो जंगल, अजंगको पहाड, खोला, खोल्सा र कर्णाली नदिको सुशेलीसंगै कमरेड विवेकका ओठ हल्लिए, आँशा व्युझिए र मस्तिस्क सक्रिय भयो र सम्झ्यो अघिल्यो दिनको त्यो लडाई ।

बेलुकाको ४ बजिसकेको थियो । घाम डुब्न लागेकोले पहाडको टुप्पामा घामको किरण देखिन्थ्यो साहेद त्यसैले पनि होला कमरेड विवेकलाई भ्रम भएको । त्यस्तो अवास्थामा २४ घण्टा विताउदा पनि साथिहरुलाई सोध्नुहुन्थ्यो रे… कमरेड दुस्मन कहाँ छ ? हाम्रा साथिहरु कहाँ गए ? नेताहरु त सुरक्षित छन् नि ? यस प्रकारका प्रश्नले गर्दा खोजिकार्यमा जुटेका सवै जना कमरेडहरुलाई पुनः हौसला मिलेछ र भन्नुभएछः कमरेड भिडन्त भएको हिजो हो । आज अर्को दिन भइसक्यो । हाम्रा साथिहरु सवै सकुशल छन् । हामी तपाईलाई खोज्दै थियौं, बल्ल आज तपाई फेला पर्नु भयो, अव ढिलो नगरी हामी सुरक्षित स्थान हाम्रो पार्टीको सम्पर्कमा जानुपर्छ र तपाईको उपचार प्रक्रिया अगाडी बढाउनुपर्छ भन्दै बोकेर साथिहरुले सुरक्षित स्थान सिकु तर्फ लगेछन् । पछि विभिन्न अवरोध पार गर्दै हाम्रो ठूलो दाइ उहाँलाई भेट्न सफल हुनुभयो । भेटमा उहाँको अवस्था देखेर ठूलो दाइलााई उहाँ बाँच्नु हुन्छ भन्ने कत्ति पनि आशा थिएन रे । तरपनि पार्टी भित्रको अनुशासन, कमरेडहरुको सहयोगी भावना, सम्मान र आत्मियतालाई देखेर चाँडै उपचार पाए त बाँच्थ्यो की भन्ने झिनो आशा पनि पलाएको थियो रे ।समयक्रमसंगै विभिन्न अवरोधहरुको सामना गर्दै, दुष्मनसंग लुकामारी खेल्दै विभिन्न माध्यमद्धारा भारतको लखनउमा उपचारको लागि पार्टीले पठाएको कुरा करिव १० महिना पछि कमरेड विवेको चिठी र चिठीभित्र एउटा सादाफोटो प्राप्त भएपछि बल्ल हाम्रो परिवारलाई उहाँको अवस्था थाहा भएको हो, नत्र भने स्थानिय नेता कार्यकर्तालाई थाहा नभएर हो, या पार्टीको आन्तिरिक सुरक्षाका कारण भन्न नमिलेर हो, कुन्नी उहाँहरुले पनि उपचारमा हुनुहुन्छ ठिक हुन्छ भन्ने बाहेक अरु सूचना केही पनि दिन सक्नुहुन्थेन । करिव एकवर्ष पछि सन्चो भएर कालिकोटमा आइसकेपछि एकजना स्थानिय नेताको साथमा घरमा आउनुभएको थियो र हामी सम्पूर्ण परिवार खुशी भएका थियौं ।

कुनै पनि व्यक्तिलाई चिनाउने मूल आधार भनेकै देश भएकाले देशको रक्षातर्फ लाग्नु प्रत्येक नागरिकको दाहित्व हो । आफ्नो देश र जनताको लागि ज्यान दिन समेत तयार हुनु राष्ट्रवादी नागरिकको कर्तव्य हो । राष्ट्रभक्ति भएको मानिस कुनै पनि समय र परिस्थितिबाट भाग्न सक्दैन् । अन्तिम क्षणसम्म पनि देशकै लागि लडिरहन्छ । कमरेड विवेक पनि राष्ट्रभक्ति भावले ओतप्रोत भएकै कारण कि मृत्यु कि मुक्ति भन्दै संघर्षको मैदानमा निरन्तर संघर्षरत हुनुहुन्छ । एकवर्षको उपचारपछि हातमा रड राखेकै कारण सैन्यमोर्चामा काम गर्न नमिल्ने भएकाले उहाँलाई पार्टीले राजनितिक मोर्चामा जिम्मेवारी दिने निर्णय लियो । निर्णय लगत्तै सैन्य कमिसारको जिम्मा सम्हाल्दै जाँदा बाजुराको पाण्डुसैन, कोल्टी र मार्तडीमा केही फौजि आक्रमण भएका थिए यसै सन्दर्भमा आन्तरिक दुर्घटना भई उहाँको खुट्टा (जाँङ) मा गोली लागेको थियो । त्यो बेला सैन्य कमिसार हुदै भुगोलको पनि जिम्मेवारी सम्हाल्नु भयो ।

पार्टी रणनितिक प्रत्याक्रमणको चरणमा थियो । पार्टीले कालिकोटबाट थुप्रै नेता कार्यकर्ता पूर्व, मध्य, गण्डक र सुदुरपश्चिमा खटाएको थियो । त्यतिबेलाको भाषामा भन्दा कार्यक्षेत्र तोकेको थियो । यसै सन्दर्भमा कमरेड विवेकलाई पनि वि.सं. २०५९ सालदेखि डोटी जिल्लामा कार्यक्षेत्र तोकी खटाएको थियो । त्यसपश्चात् उहाँ डोटेली मुक्तिकामी जनताको साथमा सति साल झै उभिएर विभिन्न मोर्चा सम्हाल्नु भयो । डोटी जिल्लाको इन्चार्जको रुपमा धेरै समय रहनु भयो । यही वीचमा थुप्रै जेल हिरासत भोग्नु भयो । डोटीका बस्ती बस्तीमा पुगी उत्पीडनका विरुद्धमा आवज, अन्याय अत्याचार, शोषण, दमनका विरुद्ध, राज्यसत्ताका विरुद्ध, राजतन्त्रका विरुद्ध आवाज बुलन्द गर्नुभयो । पार्टीलाई स्थापित गर्नुभयो । यही सिलसिलामा २०५८ फागुन ४ गते मंगलसेनमा पुनः घाइते हुनुभयो । यसरी कालिकोटे किसान परिवारको छोरो डोटेली मुक्तिकामी जनतको साथमा रही विभिन्न लडाई र संघर्षका मोर्चामार्फत संघिय लोकतान्त्रिक गणत्रन्त्रको स्थापनासम्म आइपुग्दा उहाँ डोटेली जनताको निकै प्रिय नेता रहि रहनुभएको छ ।

नेपालको राजनितिक परिघटनाहरु एकपछि अर्को हुदै जटिल मोडमा पुग्न थाले । २०५२ सालमा जे उदेश्य राखेर जनयुद्धको सुरुवात गरिएको थियो त्यो पुरा नभएको र नेतृत्वले जनताका मुद्धा छोडेको भन्ने आरोप प्रत्यारोप सहित पार्टी विभाजित हुने लहर चल्यो । मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन भयो । कमरेड विवेकको उदेश्यमा प्रतिबद्ध हुने गुण भएकाले होला उहाँ बैद्य नेतृत्वमा विभाजित पार्टीमा आबद्ध हुनुभयो । वैद्यले पनि क्रान्तिको बाँकी कार्यभार पुरा गर्न नसक्ने भन्दै कमरेड विप्लवको नेतृत्वमा पार्टी पुनरगठन भयो । कमरेड विवेक विप्लवको पक्षमा उभिनु भयो । यसरी सधैं हार्डलाइनर बन्दै गर्दा उहाँले कहिल्यै पनि लाभको पद, सुख, सुविधा रोज्नुभएन । केवल मजदुर वर्गका समस्या, जातीय, क्षेत्रिय, लैंगिक विभेदका समस्या, प्राकृतिक सम्पदाको दोहन, राष्ट्रियता, स्वाधिनता, जनजीवीका, गणतन्त्र र समाजवादलाई नै मूलमन्त्र बनाउनु भयो । यसै सन्दर्भमा उहाँ विप्लव नेतृत्वको नेकपाको डोटीको इन्चिार्ज हुनुभयो । डोटीमा राजनितिक सांगठानिक गतिविधिहरु तीव्र पार्नुभयो ।

सरकारले पहिलो पटक स्थानीय, प्रदेश र संघको निर्वाचन गराउन थाल्यो । राजनितिक दलहरु सक्रियताका साथ चुनावमा भाग लिन थाले तर उहाँको पार्टी नेकपाले उक्त चुनावलाई बहिस्कार गर्ने घोषणा गर्यो । पार्टी पंक्ति र सम्बन्धित चुनाव बहिस्कारको तयारीमा जुटे । पार्टीले आवश्यकता अनुसार नेता कार्यकर्ताको जिम्मेवारी र भुगोल हेरफेर गर्यो । यस क्रममा उहाँको कार्यक्षेत्र कैलाली र हैसियत कैलाली जिल्ला इन्चार्ज भयो । उहाँले इमान्दारी र सक्रिय भएर जिम्मेवारी सम्हाल्नु भयो । सरकारले चुनाव बहिस्कार गर्ने पार्टी र त्यसमा आवद्ध नेता कार्यकर्तालाई धरपकट सुरु गर्यो । यही क्रममा उहाँ पटक पटक हिरासतमा पर्नु भयो । सरकारले गर्ने यस प्रकारको चुनावको कुनै औचित्य नभएको र यो चुनावले नेपाली जनतालाई कुनै निकास नदिने भन्दै पार्टीको केन्द्रिय नीति अनुरुप नै उहाँ अडिग रहनु भयो । समयक्रम अगाडी बढ्दै गयो उहाँको राष्ट्रिय राजनितिप्रतिको चासो र दायित्व पनि बढ्दै गयो । राष्ट्रियता, जनजीविका, स्वाधिनताका विषयमा जनतालाई साथमा लिएर सधै अगुवा भइरहनु भयो । लिपुलेक र सिमा विवादका बारेमा विरोध प्रर्दशन, जनजागरण र आमसभा गर्नेकार्य तिव्र पार्दै गर्दा पुन गिरफ्तारी खानुभयो । यसरी अविछिन्न रुपमा राजनीतिक सेवाका माध्यमबाट जनताकै पक्षमा विभिन्न खाले लडाई लड्दै गर्दा सरकारले नेकपालाई प्रतिबन्द लगायो । प्रतिबन्दको हर हालतमा सामना गदै नेपालमा वैज्ञानिक समाजबाद स्थापना गर्न उहाँ दृढ संकल्पका साथ अगाडि बढ्दै जानुभयो ।

जीवन विशाल, महान्, जटिल र बहुआयामिक छ । त्यसैले जीवन कहिल्यै पूर्ण हुन सक्दैन् । आकाशकै जस्तै शून्यता र खुलापनमा मात्र जीवनको सार्थकता पाउँन सकिन्छ । जसरी आकाशको कुनै रङ छैन । आकार छैन त्यसरी नै जीवनको पनि कुनै आकार र रङ छैन । जीवन रङहीन अर्थात विनाआकारको छ । त्यसैले जीवनमा जतिखेर जे पनि हुन सक्छ भन्ने कुरालार्ई राम्ररी बोध गरी सरकारले लगाएको प्रतिबन्दलाई चुनौति दिदै पार्टीको महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै २ वर्षे प्रतिबन्द भोग्दै अगाडी बढ्ने क्रममा मिति २०७८ पुस २९ गतेका दिन उहाँ धर्मेन्द्र बास्तोलासंगै ललितपुरको बाग्मती गाउँपालिकाबाट पक्राउ पर्नुभयो । पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला लगायतलाई पक्राउ गरेकोमा सरकारले ठुलो उपलब्धी भएको भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचार प्रसार भयो । उहाँहरुलाई चरम यातना र मानव अधिकारको हनन हुनेगरी जावलाखेल प्रहरी परिसरमा राखिएको थियो। नेपाल बार एशोशियसनका अध्यक्ष सहित केही बरिष्ठ वकिलहरुको सहूहले जावलाखेल प्रहरी परिसरमा उहाँहरुको अवस्थाबारे जानकारी लिएको थियो र उहाँहरुलाई गैरन्यायिक हिरासतमा राख्न नहुने र न्यूनतम मानव अधिकारको पालना गर्दै थुनामुक्त गर्न माग गरेको थियो । केपी वली सरकारको बरबर निरंकुश दमनले गर्दा उहाँहरुको अवस्थाबारे जानकारी पाउन परिवारलाई निकै कठिन थियो । उहाँहरुको पक्राउबारे परिवारलाई जानकारी समेत दिइएको थिएन तर पनि संवैधानिक अधिकारलाई प्रयोग गदै उहाँको नाममा मैले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षकरणको रिट दायर गरें । नेपालको कानून त्यसमाथि पनि ढिलासुस्ती । सरकारले लगाएको प्रतिबन्दले गर्दा सम्बन्धित निकाय र व्यक्तिलाई भेट्न र सहज रुपमा सूचना आदानप्रदान गर्न पनि सास्ती । सर्वोच्च अदालतले उहाँको रिट निवेदन जारी ग¥यो । बन्दीलाई रिहाई गर्न सरकारका नाममा आदेश ग¥यो तर सर्वोच्च अदालतको परिसरबाटै नेपाल प्रहरीले पुनः पक्राउ ग¥यो । पक्राउ पछि उहाँलाई कैलाली लगेको थाहा भयो । विभिन्न आरोपमा कैलालीमा थुनामा राख्यो । सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन नगरि अदालतको मान हानी गरेको भन्दै मैले पुनः सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षकरणको रिट दायर गरे । यस पटक पनि सर्वोच्च अदालतले उहाँको रिट निवेदन जारी ग¥यो । बन्दीलाई रिहाई गर्न सरकारका नाममा आदेश ग¥यो तर अदालतको फैसला व्यवास्ता गर्दै उहाँलाई जेल चलान गरी कैलाली कारागारमा पठायो । न्यायीक लडाई जारी नै थियो यसैवेला केपी वली नेतृत्वको सरकार र नेकपावीच बार्ता भयो । बार्तामा ३ बुँदे सहमति भयो । सहमति अनुसार सरकारले लगाएका झुटा मुद्धा खारेज गर्ने र बन्दी रिहाइ गर्ने काम सुरु भयो । त्यही प्रक्रिया अनुसार उहाँ पनि रिहाइ हुनुभयो ।

पार्टी खुला रुपमा आफ्ना राजनीतिक गतिविधि सन्चालन गर्न थाल्यो । यसै क्रममा केन्द्रिय समितिको बैठक बस्यो । उक्त बैठकले उहाँलाई पार्टी केन्द्रिय सदस्यमा मनोनयन गरी ओखलढुंगा र उदयपुर जिल्लाको इन्चार्ज बनायो । उहाँले करिव २ वर्ष पूर्वका ओखलढुंगा र उदयपुर क्षेत्रमा पार्टी राजनीति, जनता र जनजिविका संग जोडिएका कामहरु संचालन गर्नुभयो । पूर्वेली जनताको पनि प्रिय बन्नुभयो । छोटो समयमा ओखलढुंगा र उदयपुरमा लोकप्रिय बन्नुभयो । उहाँको स्प्रिडको राम्रै चर्चा भयो । २ वर्ष पछिकेन्द्रिय समिति बैठकले कर्यक्षेत्र हेरफेर गर्ने निर्णय लियो जसअनुसार उहाँलाई कणाली व्युरो इन्चार्ज बनाएर पठायो । कर्णाली व्युरो भित्र सुर्खेत, दैलेख र कालिकोट जिल्लाहरु समेटिएका थिए । यसरी व्युरो इन्चार्ज भए पश्चात लगभग २२ वर्षको समयावधि पछि उहाँले आफ्नो भुगोलमा पुनः फर्किने अवसर पाउनु भएको हो। सुर्खेत, दैलेख र कालिकोटका बस्तीबस्तीमा पुगेर त्यहाँको जनताको आवश्यकता, चासो, सुझावलाई संकलन गर्दै पार्टी जनतासंग रहेको महसुस जनतालाई गराउदै पार्टी केन्द्र र जनताको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण कार्य गर्नुभयो । लगभग २ वर्षको समयावधिमा उहाँले राजनीतिक, वैचारिक र सांगठानिक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरेपछि यस क्षेत्रमा पनि नेकपाको प्रभाव राम्रो रहो र यो कार्यकाल सुखद वित्यो । पार्टीको केन्द्रिय समितिको बैठकले सबैको कार्यक्षेत्र फेरबदल गर्ने निर्णय ग¥यो । यस पटक भने उहाँलाई गृह जिल्ला कालिकोटको इन्चार्जको जिम्मेवारी दिएर आफ्ने गृहक्षेत्रमा सेव। गर्ने अवसर दियो । उहाँले जिल्लाको नेतृत्व सम्हाली सकेपछि थुप्रै राम्रा र जनताको हित हुने कामहरु गर्नुभयो। उहाँको यो कार्यकालमा केही उल्लेखनिय कामहरु कालिकोटमा संचालन भए । कालिकोटको फोइमहादेवमा पार्टीको महासचिवकै उपस्थितिमा स्याउ रोप्ने कार्यक्रम सम्पन्न भयो । कालिकोटको रुप्सामा पार्टीको महासचिवकै उपस्थितिमा भेडा फार्मको उद्घाटन भयो । पार्टीकै आयोजनामा निर्माण भएको खुलालु सेरापाटा मोटर बाटो (रोड) ले गति लियो । कालिकोटको रास्कोट नगरपालिकामा पार्टीको महासचिवकै प्रमुख आतिथ्यमा आमसभा सम्पन्न भयो । पार्टीका आन्तरिक काम कार्यवाही सहित जनताको सरोकारका कामहरुमा समन्वय, सहकार्य र सहजिकरण भए । आत्मनिर्भर पार्टी, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर जनता बनाउने पार्टीको केन्द्रिय नीति अनुरुप श्रम र कृषिलाई क्रान्तिकै स्प्रिडमा अगाडी बढाउने देखि सम्पूर्ण सामाजिक कार्यहरुमा सिंगो जिल्ला पार्टीलाई अग्रसर गर्नुभएको कुरा प्रसंसनिय र प्रेरणादायि छ ।

संक्षिप्तमा उहाँको परिचय

– नामः विवेक सी (विवेक कुमाल)

 – बुवाः नरे कुमाल

 – आमाः साउनी कुमाल

– जन्मः १५ असार २०४०

 – ठेगाना साविक सिपखाना गा बि स ५, हाल रास्कोट नगरपालिका २ कालिकोट

  – उहाँका आमा, २ जना दाजु, १ जना बहिनी, १ जना भाइ, श्रीमती र २ जना छोरा छन् ।

–  २०५६ साल जेठ २८ गते महान जनयुद्धमा पूर्णकालिन (भुमिगत) भई नेकपा (माओवादी) सिपखाना गाउँ कमिटी सदस्य ।

  – २०५६ साल साउन ४ गतेदेखि हिमचुली छापामार दल सदस्य ।

 – २०५७ साल जेठ २८ गते नेकपा (माओवादी) को पार्टी सदस्य ।

–  २०५७ साल पौष २७ गते कालिकोट जिल्ला फुकोट गा बि स थोल्म हत्याकाण्डमा गम्भीर घाइते ।

–  २०५८ साल जेठ महिना देखि मंसिर सम्म हिमचुली छापामार दल कमिसार ।

– २०५८ पौषदेखि (स्पेसल टाक्स फोर्स) कालिकोटको कमिसार ।

– २०५८ साल फागुन ४ गते अछाम जिल्ला सदरमुकाम मंगलसेन आक्रमणमा घाइते ।

–  २०५९ साउनदेखि सुदुरपश्चिमको डोटी जिल्लामा सरुवा भएर विभिन्न जिम्मेवारी बहनगर्दै इलाका इन्चार्ज, जिल्ला सचिव, सेतिमहाकाली राज्य समिति सदस्य, ब्युरो सदस्य हुदै पार्टी जिल्ला इन्चार्ज २०७३ सम्म ।

– २०७४ देखि ०७७ सम्म कैलाली पार्टी जिल्ला इन्चार्ज र सेतिमहाकाली ब्युरो सदस्य ।

– २०७७ मंसिर देखि बागमती प्रदेशमा सरुवा ।

 – पटक पटक हिरासत, गिरफ्तार, धरपकट र अपहरण ।

 – २०७८ पौष २९ गते प्रतिबन्धको समयमा ललितपुर जिल्लाको बागमती गाउँपालिकाबाट गिरफ्तार ।

 – गिरफ्तार पश्चात महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरकमा हिरासत ।

 – कैलाली जिल्ला प्रहरी कार्यालयमा हिरासत र कैलाली जिल्ला कारागार जेलचलान ।

– केपी  वली सरकारसंग ३ बुदें सहमति भएपछि जेलमुक्त । २०७८ साल बैशाखमा बसेको ८ औं केन्द्रीय समितिको १० औं पूर्ण बैठकबाट पार्टी केन्द्रीय सदस्य पुर्वका उदयपुर र ओखलढुंगा जिल्ला इन्चार्ज ।

– २०७९ असोजमा भएको ९ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ।

 – २०८० माघदेखि मध्य कर्णाली ब्युरो इन्चार्ज जसमा कालिकोट, दैलेख र सुर्खेत जिल्लाहरु पर्छन्

– २०८२ बैशाखदेखि हालसम्म कालिकोट जिल्ला पार्टी इन्चार्ज कर्णाली प्रदेश कार्यालय सचीव ।

संक्षिप्तमा उहाँको व्यक्तित्वलाई केलाउनु पर्दा नेपालको दश वर्षिय जनयुद्ध केवल सत्ता परिवर्तनको सामान्य प्रक्रिया मात्र होइन, यो जेल, नेल, हिरासत, यातना, त्याग र बलिदानले लेखिएको संघर्षपूर्ण इतिहास हो । यो आन्दोलन लोकतन्त्र र गणतन्त्र स्थापना गर्न सारथी बनेको हो । यस आन्दोलनको अग्रपंक्तिमा उभिएका केही व्यक्तित्वहरूमध्ये विवेक शब्दभन्दा कर्मले बोल्ने ब्यक्तिको रुपमा चिनिनुहुन्छ । जसले व्यक्तिगत सुख–सुविधा, पदलाभ, शारिरीरक स्वास्थ्य र पारिवारिक सहजतालाई तिलाञ्जली दिँदै लोकतन्त्र, जनअधिकार र सामाजिक न्यायका लागि जीवन समर्पण गर्नुभएको छ । संघर्षको मोर्चामा निडर नेतृत्व निरंकुशता, अन्याय र दमनविरुद्ध जब जनताको आवाज दबाइन्थ्यो, त्यही बेला उहाँ सडक, आमसभा, आन्दोलन र संगठनको मोर्चामा अगाडि देखिनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्दै जनतालाई एकताबद्ध गर्न महत्वपूर्ण योगदान दिनुभयो । आन्दोलनका क्रममा पटक–पटक पक्राउ पर्नु, पटक पटक जेल र हिरासतमा बस्न बाध्य हुनु, नेल र हथकडीको अपमान सहनु उहाँको जीवनको कटु यथार्थ बन्यो । जेल, नेल र हिरासतको पीडा जेल उहाँको लागि अपराधको सजाय होइन, विचारको परीक्षा थियो । अँध्यारा कोठा, कठोर व्यवहार, मानसिक र शारीरिक यातनाबीच पनि उहाँको आत्मबल कहिल्यै कमजोर भएन। हिरासतमा रहँदा उहाँले सहनुपरेका पीडा, अपमान र दबाबका बाबजुद पनि विचार र प्रतिबद्धतामा सम्झौता गर्न अस्वीकार गर्नुभयो । नेल र हथकडीले उहाँका हात बाँधिए पनि सोच र साहसलाई कहिल्यै बाँध्न सकेन ।

अंगभंग भए पनि नझुकेको साहस आन्दोलनकै क्रममा प्राप्त चोटपटक र शरिरमा लागेको गोलिले उहाँलाई आजीवन पीडा बोक्न बाध्य बनायो । घाइते भई अंगभंग हुनु उहाँको व्यक्तिगत दुर्भाग्य होइन, लोकतन्त्रका लागि चुकाइएको ठूलो मूल्य हो । शरीर थाक्यो, पीडा बढ्यो, तर संकल्प कमजोर बनेन । विपरीत परिस्थितिमा पनि उहाँ आन्दोलन र विचारबाट पछि हट्नुभएन, जसले उहाँको अदम्य साहस र प्रतिबद्धतालाई उजागर गर्छ ।

समाजवाद उन्मुख विचारमा अडिग यात्रा उहाँ केवल सत्ताको प्रतिस्पर्धामा लागेको नेता होइन । समाजवाद उन्मुख विचारलाई आफ्नो जीवनदर्शन बनाउँदै सामाजिक न्याय, समानता, समावेशिता र जनअधिकारको पक्षमा उहाँ निरन्तर संघर्षरत रहेको यथार्थ हो ।श्रमिक, किसान, उत्पीडित, सीमान्तकृत र आवाजविहीन समुदायका हक–अधिकारका लागि उहाँले बोलेका शब्द र गरेका काम सबैका सामु जगजायर छन् । उहाँको विचार भाषणमा मात्र सीमित नभई व्यवहार र आचरणमा स्पष्ट देखिन्छन् ।

प्रेरणाको स्रोतका रुपमा उहाँको व्यक्तित्व समाजावादको सुन्दर बाटोमा उहाँका पाइलाहरु निरन्तर अघि बढिरहेका छन् । समाजवाद नै उहाँको अन्तिम गन्तव्य हो । आजको पुस्ताका लागि उहाँको जीवन एउटा जीवित पाठशाला हो । कठिनाइबाट नडराउने, दबाबमा नझुक्ने, आदर्शमा अडिग रहने र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका लागि समर्पित हुने संस्कार उहाँको जीवनबाट सिक्न सकिन्छ । लोकतन्त्र, समाजवाद सजिलै प्राप्त हुँदैन, यसको रक्षा र विस्तारका लागि निरन्तर त्याग र साहस आवश्यक पर्छ भन्ने सन्देश उहाँको जीवनले स्पष्ट रूपमा दिन्छ ।

परिवार, त्याग र गौरवको सन्तुलित कथा उहाँको संघर्ष केवल व्यक्तिगत साहसको कथा होइन, त्यो परिवारको मौन बलिदानसँग गहिरो रूपमा जोडिएको यात्रा हो । परिवारका लागि उहाँ आशा, भरोसा र अभिभावकत्वको प्रतीक हुनुहुन्थ्यो । तर लोकतान्त्रिक आन्दोलनको कठोर बाटो रोज्दा परिवारले पनि अनगिन्ती पीडा सहनुप¥यो । बारम्बारको जेल, हिरासत र आन्दोलनले घर–परिवारमा असुरक्षा, अभाव र चिन्ताको बादल मडारिरह्यो । अभिभावकको उपस्थिति नपाउँदाको खालीपन, पारिवारिक सुख–सुविधाबाट वञ्चित जीवन र निरन्तर भयमा बाँच्नु परिवारका लागि कम पीडादायी थिएन ।

तर यिनै पीडाबीच परिवारले कहिल्यै उहाँको बाटो रोक्ने प्रयास गरेन। बरु मौन समर्थन, धैर्य र विश्वासका साथ उहाँको संघर्षलाई आत्मसात ग¥यो । आज परिवारले भोगेका क्षतिहरू, शारीरिक पीडा, आर्थिक चुनौती र भावनात्मक अभाव—इतिहासका कठोर यथार्थ हुन्। तर त्यहीसँगै प्राप्त उपलब्धि अझ गहिरो र अर्थपूर्ण छन् । लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारका लागि गरिएको त्यागमा परिवारको पनि समान हिस्सेदारी छ भन्ने गौरव हामी परिवारको लागि सबैभन्दा ठूलो उपलब्धि हो ।

यसर्थ, उहाँको योगदान मूल्याङ्कन गर्दा केवल सार्वजनिक जीवनमा देखिएको संघर्ष मात्र होइन, पर्दा पछाडि उभिएको परिवारको धैर्य, सहनशीलता र त्यागलाई पनि सम्मान गर्न आवश्यक छ । परिवारका सपनाहरू केही क्षणका लागि रोकिए, केही चाहनाहरू अधुरा रहे, तर राष्ट्रका लागि गरिएको त्यागले परिवारलाई समाजको अगाडि गर्वका साथ उभिने अमर उपलब्धि प्रदान ग¥यो । यही सन्तुलन, क्षति र उपलब्धिको संगम—उहाँको जीवन र संघर्षको सबैभन्दा गहिरो निष्कर्ष हो ।

निष्कर्ष

नेपालको दशवर्षे जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा जेल, नेल, हिरासत, घाइते शरीर र निरन्तर संघर्षका बाबजुद पनि अडिग रहनु भएका उहाँ जस्ता सबै त्यागी व्यक्तित्वहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन् । उनीहरूको योगदान इतिहासका पानामा मात्र सीमित नरही वर्तमान र भविष्यका पुस्तालाई प्रेरणा दिने दीपस्तम्भ बन्नुपर्छ । यिनै त्याग, तपस्या र बलिदानका कारण आज हामी लोकतन्त्रको उज्यालो अनुभूति गर्न सक्षम भएका छौँ । वास्तवमा आजको लोकतन्त्र भोलिको समाजवाद र साम्यवादको आधार हो । समाजवादी व्यवस्था अव नेपालका लागि अनिवार्य भइसकेको छ । जसका लागि ठूलो बलिदान गर्ने महान सहिदहरु, कमरेड विवेक जस्ता हजारौं घाइतेह, अंगभंगहरु र बेपत्ताहरुप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरुको योगदान खेर जान नदिन सचेत र प्रतिवद्ध हुनु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया