कालिकोट : जिल्लामा रहेका कैदिबन्दीहरूका लागि मासिक स्वास्थ्य सेवा प्रवाह कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना र जिल्ला कारागार कार्यालय कालिकोटको समन्वय तथा सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमअन्तर्गत कारागारमा रहेका ४१ जना पुरुष र ४ जना महिला गरी जम्मा ४५ जना कैदिबन्दीहरूको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डा रत्नवीर सुनारले बताउनु भयो ।
स्वास्थ्य जाँचमा छाला रोग, रक्तचाप (प्रेसर) लगायत विभिन्न रोगहरूको परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको समेत सुनारले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक डा. रत्नवीर सुनारको अध्यक्षता,प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी हिम बहादुर खत्रीको विशेष आतिथ्यता रहेको थियो। व्यवस्थापक डा. सुनारले कारागारभित्र रहेका कैदिबन्दीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नियमित रूपमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिँदै आएको समेत जानकारी दिनुभयो ।







तिलाप्रेस । २६ पुष २०८२, शनिबार १६:५२