छत्र राेका मगर कालिकोट । शुभकालिका गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को समीक्षा तथा आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। २०८२ सालमा आयोजित उक्त कार्यक्रम शुभकालिका गाउँपालिकाको आयोजनामा तथा रेडियो शुभकालिका एफ.एम. ९९.१ मेगाहर्ज, कालिकोटको सहजीकरणमा सम्पन्न भएको हो। सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्य प्रमुख जवाफदेही वक्ताका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाही र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाई विशेष जवाफदेही वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।कार्यक्रममा वडा अध्यक्षहरू, गाउँपालिकाका कर्मचारी, नागरिक समाजका प्रतिनिधि, आम सरोकारवाला तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, रोजगारी तथा सेवा प्रवाहमा देखिएका ढिलाइ र समस्याका विषय उठाएका थिए।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय नागरिक खडानन्द अधिकारीले भने, योजनाहरू कागजमै सीमित नभई समयमै कार्यान्वयन होस्। जनतालाई सहज, छरितो र पारदर्शी सेवा चाहिएको छ। नागरिकका प्रश्नहरूको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले पालिकाले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। नागरिकका सुझाव र गुनासोलाई हामीले गम्भीर रूपमा लिएका छौं। सीमित स्रोतसाधनका बाबजुद पनि जनअपेक्षाअनुसार सेवा दिन निरन्तर प्रयासरत छौं,” अध्यक्ष आचार्यले भन्नुभयो।
उपाध्यक्ष धर्मकला शाहीले महिलामैत्री कार्यक्रम, सामाजिक सुरक्षा तथा लक्षित वर्गका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। महिला, दलित, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई लक्षित कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ उहाँले भन्नुभयो। प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईले प्रशासनिक प्रक्रिया, बजेट कार्यान्वयन र सेवा प्रवाहमा सुधार ल्याउन कर्मचारी संयन्त्रलाई चुस्त बनाइँदै गएको जानकारी दिनुभयो। कार्यक्रममा सहभागी नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री माननीय कुर्मराज शाहीले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने उल्लेख गर्नुभयो। सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रमले स्थानीय सरकारलाई थप उत्तरदायी बनाउँछ। जनताका गुनासालाई योजनामा रूपान्तरण गरी कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ,माननीय शाहीले सुझाव दिनुभयो।

त्यस्तै, नेपाली कांग्रेसका जिल्ला उपसभापति नन्द बहादुर शाही ‘घमन’ले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम भएको बताउनुभयो।जनताको आवाज सुन्ने र त्यसको जवाफ दिने संस्कारले मात्र स्थानीय सरकार बलियो बन्छ। यस्ता कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्छ उहाँको भनाइ थियो सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय सरकारलाई अझ उत्तरदायी र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै सहभागी नागरिकहरूले यस्ता कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिन माग गरेका छन्।




तिलाप्रेस । २४ पुष २०८२, बिहीबार २०:१९