रास्कोट नगरपालिकामा विकासको फड्को: एकै दिन ४ वडा कार्यालय भवन उद्घाटन

कालीकोट: जिल्लाकाे रास्कोट नगरपालिकामा सोमबार एकै दिन ४ वटा वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। नगरपालिकाका ९ वडामध्ये हालसम्म ८ वडामा नयाँ पक्की भवन निर्माण सम्पन्न भइसकेको छ भने बाँकी वडा नं. ५ को भवन पनि असारसम्म निर्माण पूरा हुने जनाइएको छ। सोमबार वडा नं. १ देखि ४ सम्मका भवन उद्घाटन गरी सम्बन्धित वडालाई हस्तान्तरण गरिएको नगर प्रमुख धर्मराज शाहि ,उपप्रमुख मनिराज बरालले बताए ।

संघीय संरचनापछि बनेका यी वडा कार्यालय भवनहरू नगरपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारको समपुरक कोषबाट निर्माण भएका हुन्। प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि १ करोड ४ लाख रुपैयाँका दरले ठेक्का सम्झौता गरिएको थियो। नयाँ भवनहरू शौचालय र खानेपानी सुविधासहितका छन्।

सबै वडा कार्यालयका भवन निर्माणपछि घरभाडामा खर्च हुँदै आएको रकम जोगिने र नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी हुनुका साथै वडा कार्यालयका पक्की भवन सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै वडामै सहज र व्यवस्थित रूपमा सेवा पाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया