किशोर–किशोरीका लागि रूपान्तरण कक्षा सहजीकरण गर्ने ८ जना सम्मानित

कालिकोट । युरोपियन युनियन र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) को सहयोगमा, शुभकालिका गाउँपालिकाको साझेदारी तथा समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत किशोर–किशोरीका लागि सञ्चालन गरिएको ३० दिने रूपान्तरण कक्षा सफलतापूर्वक सम्पन्न भएको छ।कक्षा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शुभकालिका गाउँपालिका वडा नं. १, २, ३ र ४ का ८ जना सहजकर्तालाई गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य र उपाध्यक्ष धर्मकला शाहीले प्रमाणपत्र प्रदान गर्दै खादा ओढाई सम्मान गर्नुभएको हो। सम्मानित हुनेहरूमा हेमन्त अधिकारी, जान्की सुनार, सपना योगी, निरिका बम, पुष्कर शाही, बिमला चौलागाईं, भुपेन्द्र अधिकारी र सुमन राम्जाली मगर रहेका छन्।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले किशोर–किशोरी लक्षित यस्ता रूपान्तरण कक्षाले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले किशोर–किशोरीमा सही ज्ञान, आत्मविश्वास र नेतृत्व विकास गर्न सके समाज रूपान्तरण हुने बताउनुभयो। साथै, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक सचेतनाका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
उपाध्यक्ष धर्मकला शाहीले किशोर–किशोरीको व्यक्तित्व विकास, अधिकार र लैङ्गिक समानताका विषयमा रूपान्तरण कक्षा प्रभावकारी भएको उल्लेख गर्नुभयो। किशोर अवस्थामा प्राप्त शिक्षा र व्यवहारले जीवनभर असर पार्ने भन्दै यस्ता कार्यक्रमले हिंसा, भेदभाव र नकारात्मक सोच न्यूनीकरण गर्न सहयोग पुर्‍याउने बताउनुभयो। कार्यक्रममा वडा अध्यक्षहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया