कालिकोट ,कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं २ लाई स्थानीय बालमैत्री वडा घोषणा गरिने भएको छ। बालबालिकाको हक, अधिकार तथा सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यसहित पुस ५ गते शनिबार औपचारिक रूपमा बालमैत्री वडा घोषणा गर्न लागिएको हो। भिडिसेफ नेपाल कालिकोटका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीका अनुसार वडालाई बालमैत्री बनाउने अभियान अन्तर्गत आवश्यक सूचकहरू पूरा भइसकेपछि घोषणा गर्न लागिएको हो। उनका अनुसार बालमैत्री शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागितालाई केन्द्रमा राख्दै वडाभित्र विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। बालश्रम, बालविवाह, हिंसा तथा शोषणविरुद्ध समुदायस्तरमै सचेतना अभिवृद्धि गरिएको छ भने बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउने अभ्यासलाई समेत संस्थागत गरिएको छ। विद्यालय, स्वास्थ्य संस्था, आमा समूह, युवा क्लब र अन्य सरोकारवालाको सहकार्यमा वडा बालमैत्री मापदण्डअनुसार अघि बढेको भिडिसेफ नेपाल कालिकोटकी परियोजना संयोजक सरिता खत्रीले जानकारी दिइन्।
बालमैत्री वडा घोषणासँगै बालबालिकाका लागि सुरक्षित खेलमैदान, अनुकूल सिकाइ वातावरण तथा बालमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताइएको छ। स्थानीय जनप्रतिनिधिहरूले बालमैत्री वडा घोषणा केवल औपचारिकतामा सीमित नराखी व्यवहारमै कार्यान्वयन गरिने बताएको छ । कालिका माध्यमिक विद्यालय बालचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनसिंह बी.क.का अनुसार वडाका सबै टोलका विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेका छन्। यस्तै, केला बी.क. र मिमसरा बी.क.ले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने गरेको बताएका छन्। बालअभियन्ता अबिसरा विश्वकर्माले गाउँमा विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन निरन्तर अनुगमन गर्दै आएको जानकारी दिइन्।भिडिसेफ नेपाल कालिकोटका परियोजना व्यवस्थापक मनबहादुर शाहीका अनुसार स्थानीय बालमैत्री वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचक र २७ वटा चरण पूरा भइसकेका छन्।
मंगलबार शुभकालिका गाउँपालिका वडा नं २ का कार्यवाहक वडा अध्यक्ष सन्तोष कामीको अध्यक्षतामा जिल्ला समन्वय समिति कालिकोटका प्रवक्ता अजयबहादुर बमको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईंको विशेष आतिथ्यतामा सरोकारवालासँग अनुगमन तथा बृहत् छलफल गरिएको थियो। कार्यक्रममा सामाजिक विकास कार्यालय कालिकोट, शिक्षा शाखा प्रमुख नमराज आचार्य , प्रहरी, नागरिक समाज, पालिकास्तरीय बालसञ्जालका अध्यक्ष विपिन धिताल लगायतको सहभागिता रहेको थियो।





तिलाप्रेस । १ पुष २०८२, मंगलवार २१:५७