कालिकोटमा ११औं राष्ट्रिय उद्योग दिवस-चार उद्योगी सम्मानित

कालिकोट –  कालिकोटमा ११औं राष्ट्रिय उद्योग दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार,भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटले उद्योग दिवस मनाएको हो। दिवसको अवसरमा जिल्लाका चार उद्योगीलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा सनलाइट होटल एन्ड रेष्टुरेन्टका प्रोप्राइटर रविन्द्र शाही, पञ्चदेवल आधुनिक माटाभाँडा उद्योगका प्रोप्राइटर मेगे कुमाल, कर्णाली जडीबुटी प्रशोधन उद्योगका प्रोप्राइटर अज बहादुर गिरी र सत्य विनायक चाउमिन उद्योगका प्रोप्राइटर प्रेमबहादुर शाही रहेका छन्। उद्योगीहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको कार्यालयले जनाएको छ।

अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटका प्रमुख श्रीबहादुर विष्टले स्वदेशी उत्पादनको सहज बजारीकरणका लागि राज्यको भूमिका निर्णायक हुने बताए। उनले उद्योग क्षेत्रलाई अझै प्रोत्साहनका साथ लगानीमैत्री नीति आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले उद्योगको योगदान घट्दो र आयात बढ्दो अवस्थामा राज्यको नीति स्वदेशी उत्पादन र उपभोगमुखी हुनुपर्ने बताए। साना, मझौला तथा ठूला उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक र मौद्रिक नीति तय गर्नुपर्ने उनले बताए ।

कार्यक्रमका सहभागीहरूले सिप सिकेर विदेशिनुपर्ने बाध्यता हटाउन राज्यले स्वदेशी उत्पादनको बजार अभिवृद्धिमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयाे कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया