कालिकोट: सान्नित्रिवेणी गाउँपालिकामा नवनिर्मित नयाँ प्रशासनिक भवनको सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन्। भवन सञ्चालनमा आएपछि अब पालिकाका सबै प्रशासनिक सेवा आफ्नै संरचनाबाट प्रदान हुने भएको गाउँपालिकाले जनाएको छ।
उद्घाटनकै अवसरमा ‘जेन–जी’ युवाले गाउँपालिकाको विकास, स्वास्थ्य सेवा सुधार, सडक स्तरोन्नति, खानेपानी विस्तार, कृषि सहुलियत र प्रशासनिक सेवामा सहजता सुनिश्चित गर्न माग राख्दै मुख्यमन्त्री कँडेललाई ज्ञापनपत्र बुझाएका छन्। उक्त ज्ञापनपत्रमा शुनिल शाही, मिन बोगटी, विशाल शाही र नहकुल शाहीले हस्ताक्षर गरेका थिए।

मागहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार र स्थानीय तहबीच सहकार्यमा आवश्यक निर्णय आउने विश्वास दिलाए। नयाँ भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय तथा निर्माण कम्पनीका प्रतिनिधिलाई कार्यक्रममा सम्मान गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाल का अनुसार वर्षौँदेखि भाडाको सानो भवनबाट सेवा प्रवाह गर्दा कठिनाइ थियो। अब नयाँ भवन सञ्चालनमा आएसँगै सेवा–सुविधा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको समेत उहाँले बताउनु भएकाे छ।





तिलाप्रेस । ९ मंसिर २०८२, सोमबार २०:४०