रास्कोटका चारवटै मा.वि.मा SEE लक्षित आवासीय पढाइ सुरु

रास्कोट : रास्कोट नगरपालिकामा रहेका चारवटै माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरिएको छ। आगामी माध्यमिक शिक्षा परीक्षा (SEE) को तयारी प्रभावकारी बनाउन मंसिरको पहिलो हप्तादेखि निरन्तर आवासमै बसेर कक्षा सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख खेमराज शाहीले जानकारी दिए।

नगरपालिका अन्तर्गत श्री बडिमालिका मा.वि स्यूना, श्री मोतिराम मा.वि सिपखाना, श्री जनजागृति मा.वि र श्री कालिशिल्ला मा.वि मा आवासीय पठनपाठन औपचारिक रूपमा सुरु भएको हो।

कार्यक्रममार्फत विद्यार्थीलाई मुख्य विषयको दोहोरो अभ्यास, प्रश्नपत्र समाधान, परामर्श तथा अनुशासित वातावरणमा अध्ययन सुविधा प्रदान गरिएको विद्यालय स्रोतले जनाएको छ। शिक्षकहरूले दैनिक पाठ्यक्रमअनुसार पुनरावृत्ति, कमजोर पक्ष पहिचान तथा अभ्यास–आधारित सिकाइलाई प्राथमिकतामा राखेर कक्षा सञ्चालन गरिरहेका छन्। अभिभावक र स्थानीय तहले समेत यसलाई विद्यार्थीको शैक्षिक सुधारका लागि महत्वपूर्ण पहलका रूपमा लिएको नगरप्रमुख धर्मराज शाही पाेषणले बताए।

सिकाई कार्यक्रम निरन्तर जारी रहने र यसले विद्यार्थीको नतिजामा उल्लेखनीय सुधार आउने विश्वास लिएकाे  छ ।

तपाईको प्रतिक्रिया