रास्कोटमा निःशुल्क आँखा शिविर : पहिलो दिन ३३५ जना सेवाग्राहीले लिए सेवा

कालिकोट : रास्कोट नगरपालिका र नेपाल नेत्रज्योति संघ, कालिकोट शाखाको संयुक्त आयोजनामा प्रादेशिक रणनीतिक अस्पताल रास्कोटमा सुरु भएको निःशुल्क आँखा शिविरमा पहिलो दिन ३ सय ३५ जनाले सेवा लिएका छन्। तीमध्ये १५ जनाको सफल शल्यक्रिया गरिएको अस्पताल स्रोतले जनाएको छ।

शिविर २०८२ कात्तिक २२ गतेसम्म सञ्चालन हुने भएकाे छ। सेवाग्राहीको चाप बढेमा एक–दुई दिन थप सेवा सञ्चालन गर्ने तयारी समेत गरिएको बताएको छ ।  शिविरमा आँखा जाँच, औषधि वितरण, परामर्शदेखि आवश्यक परे सर्जरीसम्मका सेवा निःशुल्क उपलब्ध गराईने समेत बताएको छ।

शिविर नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। उद्घाटन कार्यक्रममा व्यवस्थापक टक्क फर्सालको सभाध्यक्षतामा तथा रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण)को प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव महेन्द्रजंग शाही, नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखा अस्पतालका डा. हरि विक्रम अधिकारी र डा. डब्बल अधिकारी, रास्कोट अस्पतालका डा. कमलराज बराल, स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपाने, वडा नं.–५ का अध्यक्ष मन तिरुवा लगायत विभिन्न शाखाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया