अछाम : हालै सार्वजनिक भएको एसईई नतिजामा अछाम जिल्लामा प्रथम र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूको नाम फेरिएको छ । रामारोशन गाउँपालिकाका चार विद्यार्थीको नतिजा सुरुमा अनुपस्थित देखिए पनि संशोधनपछि दुई जनाले उत्कृष्ट नतिजा ल्याएका छन । पिंगला मावि मलातिकोटकी छात्रा करिश्मा खनालले ३ दशमलव ९१ जीपीए ल्याएर अछाम जिल्लामा प्रथम स्थान प्राप्त गरेकी छन्। भने त्यस्तै, यशोदा मावि रामारोशनका छात्र सुमित साउँदले ३ दशमलव ८७ जीपीए प्राप्त गर्दै जिल्ला तृतीय स्थान हासिल गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीका अनुसार चाँफामाण्डौ परीक्षा केन्द्रमा परीक्षा दिएका चार विद्यार्थीका लेखा विषयका अंक चढाउन छुटेकाले उनीहरूलाई अनुपस्थित देखाइएको थियो । विद्यालयले हाजिरी र अन्य विवरण प्रमाणसहित परीक्षा नियन्त्रण कार्यालयमा पठाएपछि नतिजा पुन प्रकाशित भएको हो।पिंगला माविका प्रधानाध्यापक प्रेमराज खनालले करिश्माको नतिजाबाट विद्यालय गौरवान्वित भएको बताए। यसअघि सार्वजनिक नतिजा अनुसार ३.९० जीपीए ल्याएका भावना साउँद र एलिशा कुँवर क्रमश जिल्लाको दोस्रो बनेका छन्।
तिलाप्रेस । २० असार २०८२, शुक्रबार १८:०५