शुभकालिका ७ र ८ मा : खर्समुल खानेपानी योजना उद्घाटन

कालीकोट :  जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ७ र ८ मा १४ किलोमिटर टाढाबाट ल्याइएको बृहत खर्समुल खानेपानी योजना एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।नौला वनको चिमाला खोलाबाट १४ किलोमिटर दुरी पार गर्दै मदन डाँडासम्म पानी पुर्‍याउन सफल भएको यो आयोजनाबाट स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन्। लामो समयदेखि पानीको अभाव झेल्दै आएका स्थानीयहरूलाई अब भने घरआँगनमै धारा मार्फत स्वच्छ पानी उपलब्ध हुने नागरिकहरुले विश्वास लिएका छन् ।

कार्यक्रमको उद्घाटन शुभकालिका गाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम बहादुर शाही र वडा नं. ८ का अध्यक्ष दिपराज महताराले संयुक्त रूपमा गर्नुभएकाे हाे । कार्यक्रममा बोल्दै वडा अध्यक्ष महताराले यस आयोजनालाई वर्षौंको संघर्षको उपलब्धिका रूपमा वर्णन गर्दै नौला वनको चिमाला खोलाबाट पानी ल्याउन धेरै मेहनत लागेकाे बताउनु भयाे । ६३ वर्षीया स्थानीय मैयाँ शाहीले यसअघि हरेक दिन एक घण्टाको पैदल यात्रा गर्दै पानी ल्याउनु पर्ने बाध्यता रहेको बताउँदै वर्तमान उपलब्धिले जीवनमा ठूलो राहत मिलेको महसुस गरेकाे बताउनु भयाे ।वडा नं. ७ का अगुवा कृषक दलसुर शाहीले भने, “पानीको अभावले भेडा-बाख्राको पालनपोषणमा सधैं समस्या हुन्थ्यो, अब भने केही राहत महसुस भएको छ। खानेपानी आयोजनाका अध्यक्ष अम्म बहादुर शाहीका अनुसार हालसम्म ४५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। उनले अझै धेरै श्रम बाँकी रहेको भन्दै चाँडै सम्पूर्ण घरमा धारा जडान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकालिका गाउँपालिकाका कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्मा, जिल्ला खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालीकोटका इन्जिनियर रमेश विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया