धनकर्ण बिश्वकर्मा कालिकोट :सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना“ अन्तर्गत पलाँता गाउँपालिकामा आयोजित दुई दिने जल कचहरी सफलतापूर्वक सम्पन्न भएको छ । जेष्ठ २८ र २९ गते सम्पन्न उक्त कचहरीमा रिजर्भ ट्याङ्की (Rvt ) प्रणालीमार्फत सञ्चालित २८ वटा खानेपानी योजनाका अध्यक्षहरू, ग्रामिण मर्मत सम्भार कार्यकर्ता, कार्यपालिका सदस्यहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
परियोजना सहयोग इकाई, सुर्खेतबाट सहभागी सुशासन विज्ञ निराजन श्रेष्ठ, वास सल्लाहकार पवन कुमार वली, प्राविधिक सहजकर्ता राजेन्द्र न्यौपाने र वास संयोजक धीर बहादुर भण्डारीले कार्यक्रमको प्राविधिक तथा सल्लाहात्मक भूमिका निर्वाह गरेका थिए कार्यक्रममा पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले सुरक्षित र दिगो खानेपानी सबै घरधुरीमा पु¥याउने प्रतिबद्धता जनाउनु भयो । उपाध्यक्ष अलैपुरा जैसी, वडा नं. २ का अध्यक्ष भीम प्रसाद न्यौपाने र वडा नं. ४ का अध्यक्ष तिलक बहादुर बुढाले जल कचहरीले उपभोक्ताहरूलाई दीर्घकालीन खानेपानी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

जल कचहरीको मुख्य उपलब्धिका रूपमा २८ वटा खानेपानी योजनाका अध्यक्ष र पलाँता गाउँपालिका बीच खानेपानी योजनालाई दिगो बनाउने सम्बन्धमा समझदारी गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा सुधारका उपायहरू तय गर्दै, खानेपानी व्यवस्थापनमा उपभोक्ता समितिको स्थायी भूमिकालाई सुदृढ गर्न १३ बुँदे घोषणापत्रमा हस्ताक्षरसमेत गरिएको छ।
तिलाप्रेस । ३० जेष्ठ २०८२, बिहीबार २२:१३