कमल कुमाल कालिकोट : जिल्लाको पचालझरना गाउँपालिकामा २० दिने आधारभूत झोला उत्पादन तथा सिलाई तालिम सम्पन्न भएको छ । पचालझरना गाउँपालिकाको आर्थिक सहयोग तथा गोपाल गौरी दिगो विकास प्रतिष्ठानको प्राविधिक सहयोगमा संचालन गरिएको २० दिने आधारभूत झोला उत्पादन तथा सिलाई तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिममा सहभागी महिलाहरूले स्कुल ब्याग, लेडिज ब्याग, जेन्स ब्याग लगायतका झोला सामग्रीहरू बनाउन सिकेका छन् ।
गाउँपालिका अध्यक्ष देवराज शाही (अग्नी) ले तालिमले महिलाहरूलाई सीपमूलक कार्यमा सक्रिय बनाउँदै आर्थिक आत्मनिर्भरता हासिल गर्नसक्ने विश्वास लिएको बताउनु भयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम ले तालिममा सिकेका कुरालाई व्यहारमा लागु गर्नुका साथै तालिम पछि उत्पादन गरिएका झोलालाई बिक्री वितरण गरी प्रत्यक्ष आम्दानी गर्न सकिने समेत उहाँले बताउनु भयो ।

साथै गाउँपालिका उपाध्यक्ष अल्किना बम (वविता) ले भन्नु भयो २० दिन सम्म संचालन गरिएको तालिमलाई सफल बनाउन सहयोग गर्ने सबै दातृ निकाय, प्राविधिक सहयोगी संस्था, प्रशिक्षकहरू र सहभागीहरूलाई पालिकाको तर्फबाट धन्यवाद समेत दिनु भएको छ। तालिमको सफलतापछि गाउँपालिकाले यस कार्यक्रमलाई दिगो रूपमा निरन्तर सञ्चालन गर्ने समेत जनाएको छ ।
तिलाप्रेस । २६ जेष्ठ २०८२, आईतवार १६:३६