कालिकोट : विधुत करेन्ट लागेर दुवै हात गुमाएका सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी १२ वर्षिय देवराज लुवारको उपचारका लागि गाउँपालिकाले ३ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । जेठ १५ गते बिहीबार गाउँपालिकामा बसेको कार्यपालिका बैठकले लुवारको उपचारका लागि सो रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । कार्यपालिकाको सर्वसम्मत निर्णय अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा दलित लक्षित वर्ग कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट रु ३ लाख ५० हजार देवराज लुवारलाई राहत स्वरूप प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
यसअघि पनि गाउँपालिकाले लुवारको उपचारका लागि भनेर २० हजार आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । देवराज लुवारलाई बैशाख २१ गाउँपालिकाको कार्यालय नजिकै रहेको मात्रि प्रसाद उपाध्यायको घरको छतमा खेलिरहेको अवस्थामा विद्युतको करेन्ट लागेको थियो । करेन्ट लागेर लुवारका दुवै हात गुमाउनु परेको छ । अहिले काठमाडौंस्थित बर्न अस्पतालमा उपचार भइरहेको परिवारले बताएका छन ।

तिलाप्रेस । १७ जेष्ठ २०८२, शुक्रबार १९:५१