नरहरिनाथमा संचालन गरिएको शिविरबाट ३ सय भन्दा बढिले लिए सेवा

कालिकोट: जिल्लाको नरहरिनाथ गाउँपालिकामा संचालन गरिएको किशोर–किशोरी लक्षित शिविरबाट ३ सय भन्दा बढि सेवाग्राहीहरुले सेवा लिएका छन् ।प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत नरहरिनाथ गाउँपालिकामा संचालन गरिएको १ दिने यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा अधिकारसम्बन्धी शिविर बाट ३ सय भन्दा बढिले सेवा लिएका छन् । जसमा ३०७ किशोरी र ४५ जना किशोर गरि जम्मा ३ सय ५२ जनाले सेवा लिएका हुन् ।

शिविरमा सहभागीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य, किशोरावस्थाका शारीरिक तथा मानसिक परिवर्तन, आत्मरक्षा र यौनिक अधिकारका विषयमा व्यवस्थित जानकारी र व्यक्तिगत परामर्श सेवा प्रदान गरिएको थियो । जिल्ला अस्पताल कालिकोटका डा. कलेन्द्र बिस्ट, योगी नरहरिनाथ आधारभूत अस्पतालका डा. जितेन्द्र महत्तो सहितका अनुभवी स्वास्थ्यकर्मीहरुले परामर्श तथा उपचार सेवा दिएका हुन । शिविरमा सहभागी किशोरीहरूले गाउँमै यस्ता संवेदनशील विषयमा सहज रूपमा जानकारी र सेवा लिन पाउँदा एकदमै उत्साहित भएको खुशी व्यक्त गरेका छन्।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, परियोजना संयोजक बलिराज शाही, अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रेम चौलागाईं, गाउँपालिकाका स्वास्थ्य संयोजक मानबहादुर सहकारी, किर्डाक नेपालका कर्मचारीहरू लगायतको विशेष उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया