कालिकोट “हामी बनाउँछौं हाम्रो नगर“ भन्ने नाराका साथ रास्कोट नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने मूल नारासहित बुधबार एक कार्यक्रमबीच नगर प्रमुख धर्मराज शाही (पोषण) र उपप्रमुख मनिराज बरालले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा रास्कोट नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीको सभाध्यक्षता, नगर प्रमुख धर्मराज शाही (पोषण) को प्रमुख आतिथ्यता तथा उपप्रमुख मनिराज बरालको विशेष आतिथ्यता रहेको थियो।

साथै, नेपाली कांग्रेस प्रदेश ’ख’ सभापति आनन्द बहादुर शाही, नेकपा एमाले नगर कमिटी अध्यक्ष काली बहादुर शाही, विभिन्न विद्यालयका खेलाडी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो। खेलकुद विकास समिति र शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा श्री बडिमालिका माध्यमिक विद्यालय, रास्कोटको खेलमैदानमा खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिता दुई दिनसम्म जारी रहनेछ, जसमा विभिन्न विद्यालयका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्।
तिलाप्रेस । १६ माघ २०८१, बुधबार १८:०४