कमल कुमाल कालीकोट – पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बम (वविता) ‘सि लिड्स आइकन अवार्ड’को समग्र समूहमा दोस्रो स्थान र देशभर चौथो स्थान हासिल गरेपछि गाउँपालिकाले साेमवार एक कार्यक्रमका बिच विशेष सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिका अध्यक्ष देवराज शाहि,प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम,विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुले खादा सहित सम्मन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट काठमाडौंमा आयोजित समारोहमा अवार्ड पाउँदा बमको यो उपलब्धि महिला नेतृत्वको क्षमता उजागर गर्ने उदाहरणीय कार्य भएको उल्लेख गरिएको छ।
देशभरका ७५३ स्थानीय तहमध्ये पहिलो चरणमा २७ जनाको छनोट गरिएको थियो। एसएमएस मतका आधारमा तेस्रो चरणको नतिजा पश्चात उपाध्यक्ष बमले दोस्रो स्थान हासिल गरेकी हुन्।

सम्मान कार्यक्रमका क्रममा उपाध्यक्ष बमले यो उपलब्धिलाई समग्र गाउँपालिकाको सामूहिक प्रयासको परिणाम भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरिन्। उनले आगामी दिनमा थप सहयोग र समर्थनको अपेक्षा गरेकी छिन्।
जनयुद्धका क्रममा लामो समय जेल जीवन बिताएकी बम २०७९ सालमा पचालझरना गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। उनको यो सफलता कर्णाली प्रदेशको लागि मात्र नभई समग्र देशका महिला नेतृत्वका लागि प्रेरणादायी मानिएको छ
तिलाप्रेस । १५ माघ २०८१, मंगलवार ०९:०४