पत्रकार महासंघको चुनाव : कालीकाेटमा पनि दुई प्यानलबीच कडा प्रतिस्पर्धा

कालिकोट  । मङ्सिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै गर्दा कालीकाेटमा भने दुई बलिया प्यानलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । मंसिर २८ गते हुने चुनावका लागि केन्द्रदेखि प्रदेश र जिल्लास्तरसम्म अलगअलग समूह चुनावी मैदानमा उत्रिएका छन्।

कालीकाेटमा पनि केन्द्रमा जस्तै सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल (निर्मला शर्मा नेतृत्वको) एक पक्ष छ । अर्कोतर्फ माओवादी केन्द्र निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन र अन्य वामपन्थी संगठनहरूको समर्थनमा (रमेश विष्ट नेतृत्वमा) अर्को प्यानल खडा भएको छ । निर्मला शर्मा नेतृत्वको प्यानलबाट जिल्ला कार्यसमितिका लागि भरतराज बिष्ट नेतृत्वको प्यानल र प्रेस सेन्टरका रत्न बहादुर कार्की प्रतिस्पर्धी छन् । तर समाजवादी प्रेस संगठनबाट अनन्त बरालकाे पनि उम्मेदवारी परेको छ ।

शर्मा प्यानलका उम्मेदवारहरू उपाध्यक्ष पुष्पराज भट्टराई, उपाध्यक्ष (महिला) पवित्रा कुमारी जैसी, सचिव रमेशकुमार बाेगटी, कोषाध्यक्ष बिश्वनाथ सिम्खडा, समावेशी सहसचिव ललित मगर (बैजाली) र सहसचिव दलसिंह कुमालले मनाेनय दर्ता गरेका छन् ।

यस्तै, कार्की प्यानलका उम्मेदवारहरुमा उपाध्यक्ष (खुल्ला) कमलबहादुर बुढा, उपाध्यक्ष (महिला) प्रिमा कुमारी बिक, राधिका बराल, सहसचिव समावेशी कमल कुमाल, सचिव पूर्णसिंह बम, सहसचिव करबीरे बिक र काेषाध्यक्षमा बीरेन्द्र आचार्य रहेका छन् ।

यसैगरी दलित सदस्यमा प्रेस चाैतारी र युनियनकाे संयुक्त व्यावसायिक प्यानलबाट मान बहादुर विश्वकर्मा र वामपन्थी संगठनकाे तर्फबाट बिनित कुमार तिरुवाकाे उम्मेदवारी छ ।

चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया बुधलबार साँझ सम्पन्न भएको थियो । दुई प्यानलबीचको यो प्रतिस्पर्धा कालीकाेटकाे पत्रकारिताको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण घडीको रूपमा हेरिएको छ ।

समर्थन जुटाउन उम्मेदवारहरू आ–आफ्नो रणनीतिमा सक्रिय छन् । अब मतदाताको अभिमतले नै जिल्ला नेतृत्वमा को विजयी हुन्छ भन्ने निर्धारण गर्नेछ ।

तपाईको प्रतिक्रिया