सान्नी त्रिवेणी गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरण कार्ययोजना तयार

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरण कार्ययोजना तयार पारीएको छ । समाजमा हुने विभिन्न सामाजिक विकृति कुरीतीहरु न्यूनिकरण गर्नका लागि कार्ययोजना तयार पारीएको हो । सान्नी त्रिवेणी गाउँपालिकामा रहेका संचारकर्मी र सामुदायिक संस्थाका प्रतिनिधिहरुले उक्त कार्ययोजना निर्माण गरेका हुन । समाजमा हुने महिला हिंसा, बालविवाह, छापडि प्रथा, जातिय विभेद जस्ता कुरीतीका अन्त्यका लागि समुदाय स्तरमा के कस्ता कार्यक्रम संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि कार्ययोजना तयार पारीएको हो ।

बालविवाह न्यूनिकरण गर्नका लागि सचेतनामुलक कार्यक्रम गर्ने, लैङ्गीक हिंसा सम्वन्धि कानुनी सचेतना कार्यक्रम संचालन गर्ने, बालवालिका सँग अभिभावक अन्तरक्रिया कार्यक्रम सामुदायिक विद्यालयहरुमा संचालन गर्ने कार्ययोजना तयार पारीएको छ । समाजमा के कस्ता सामाजिक विकृतिका घटनाहरु घटेका छन, पीडीहरुले न्याय पाएका छन वा छैनन्, दोसीलाई कार्वाही भएको छ कि छैन भन्ने विषयमा प्रतेक वडा टोलमा पुगेर खोजी गर्ने र त्यसको अनुगमन तथा मुल्यांकन गर्ने समेत कार्ययोजना बनाइएको छ । समाजमा विभिन्न किसीमका हिंसाहरु हुने गर्छन । तर हिंसा पीडीतहरु सामाजिक कुसस्कार र कानुनी सचेतनाका वारेमा जानकार नहुँदा त्यस्ता घटनाहरु वाहिर आउन सकेका छैनन् ।

सामाजिक रुपमा हुने विभिन्न हिंसाको अन्त्यका लागि र समृद्ध समुन्नत समाज निर्माण गर्नका लागि यी कार्ययोजना अनुसार अगािड बढ्ने बताइएको छ । मिडियाकर्मी र सामुदायिक संस्थाका प्रतिनिधिहरुलाई सकरात्मक यौनिकता सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागिहरुले उक्त कार्ययोजना निर्माण गरेका हुन । अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा वोल्दै किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलराम पाण्डेले नेपालमा लैङ्गीक हिंसा भोग्नेहरुको संख्या बढेको बताउनु भयो । उहाँले समाजमा विभिन्न कारणले लैङ्गीक हिंसा हुने गरेको तर कानुनी दायरामा नआउनुले पनि यसलाई न्यूनिकरण गर्न समस्या भएको बताउनु भयो । उहाँले अव विशेष गरि समुदाय स्तरमा सचेतनाका कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष देवनाथ योगीले वडा नं. ४ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले बालविवाह अन्त्यका लागि प्रतेक समुदायका घरघर सम्म पुगेर विभिन्न संघ संस्था र वडा सरकारले सचेतना जोगाउदै आएको र पछिल्लो समय बालविवाहमा कमि आएको हुँदा वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी भईरहेको बताउनु भयो ।

उहाँले समाजमा विभिन्न हिंसा र लैङ्गीक हिंसालाई अन्त्य गर्नका लागि सबैले एकजुट भएर लाग्नु पर्ने र गल्ती गर्नेलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्ने बताउनु भयो । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, किर्डाक नेपालका सहजिकरण र सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा संचालन भएको एक दिने अभिमुखीकरण कार्यक्रमको सभाअध्यक्ष महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दुर्गा ढुंगेना रहनु भएको थियो भने प्रमुख अतिथि वडा नं. ४ का वडा अध्यक्ष देवनाथ योगी, विशिष्ट अतिथि किर्डाक नेपालका जिल्ला संयोजक तुलराम पाण्डे किर्डाक नेपालका परियोजना संयोजक बलिराज शाही, कार्यक्रमका सहजकर्ता उदयराज शाही रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया