आजदेखि दसैँ सुरु, घटस्थापनाका लागि उत्तम साइत ९ः१६ मा 

सनातन हिन्दुहरुको मुख्य चाड दसैँको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदैछ । घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गर्ने परम्परा छ ।

घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका साथ टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घटस्थापनाका लागि उत्तम समय बिहान ९ बजेर १६ मिनेट रहेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा सुरु हुन्छ ।

यसैबीच नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताउनुभयो । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ । असोज २६ गते देवी विसर्जनको साइत बिहान ८ बजेर ३३ मिनेटमा छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ३६ बजेको उत्तम छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

तपाईको प्रतिक्रिया