मन्दिर निर्माणका लागि आर्थिक संकलन अभियान 

कमल कुमाल कालिकोट

कालीकोटको रास्कोट नगरपालिकाका युवाहरुले मन्दिर निर्माणका लागि आर्थिक संकलन अभियान चलाएका छन् । युवाहरुले मलयागिरी देउरा मन्दिर निर्माणका लागि आर्थिक संकलन गरिरहेका हुन् ।रकम जुट्न शुरु भएसँगै मन्दिर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । ढुंगाबाट मात्रै निर्माण गरेर पहिचान झल्काउने खालको मन्दिर बनाइने युवा शुशील शाहीले बताए । मन्दिरमा घुम्न आउने पर्यटकले हेर्दा फरक खालको पहिचान महसुस गराउने र उनीहरुको मन नै मन्दिरतिर आकर्षण हुने खालको मन्दिर निर्माणका लागि रविन्द्र न्यौपाने, सुशील शाहीलगायतको टिम लागिपरेको छ ।

मन्दिर निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ संकलन गरी रास्कोट देउरा विकास समाजको खातामा जम्मा भइसकेको छ । सबैभन्दा धेरै आर्थिक सहयोग विद्यार्थीहरुबाट भएको र कर्मचारी तथा देश विदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरिरहेको शाहीले बताए । रकम संकलन गर्ने काम जारी रहेको बताउँदै उनले साउन–भदौ महिनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।

रास्कोट नगरपालिकाको आर्थिक विकासमा टेवा पु¥याउन सक्ने विभिन्न क्षेत्रहरुमध्ये मलयागिरी देउरा मन्दिर पनि एक प्रमुख पर्यटकीय क्षेत्र हो । आफ्नै विशेषता भएको प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुका कारण पर्यटन क्षेत्रले यस नगरपालिकाको आर्थिक विकासमा ठूलो योग्दान दिन सक्ने सम्भावना बोकको छ । मलयागगिरी देउरा मन्दिर, देउरा मालिका मन्दिर, रास्कोटी राजाको दरबारको अवषेश, रानिवन आदि नगरपालिकाका पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।

तपाईको प्रतिक्रिया