बाल विवाहमुक्त पालिका निर्माणमा जुट्दै नागरिक समाज

कमल कुमाल कालीकोट  बालविवाह न्यूनीकरण गर्दै बालविवाहमुक्त पालिका बनाउन रास्कोट नगरपालिकाका नागरिक समाज र धार्मिक अगुवा लागिपरेको छन् । पालिकालाई बालविवाहमुक्त बनाउन समोबार धार्मिक अगुवा, नेपाल प्रहरी, नागरिक समाज सञ्जालका पदाधिकारी, किशोरी समूह, महिला समूहलगायतको उपस्थितिमा संवाद कार्यक्रम गरिएको छ ।

विवाह गर्नका लागि कम्तीमा २० वर्ष उमेर पार गर्नैपर्ने कानूनी प्रावधान छ । २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा स्वतः बदर हुने व्यवस्था छ । तर अझै पनि धेरै ठाउँमा बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाहले किशोर किशोरीको शारीरिक र मानसिक अवस्थामा समस्या पर्ने भएकाले यसको न्यूनीकरण गर्नका लागि प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सादा नेपालको साझेदारीमा रास्कोट नगरपालिकालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी रहेको छ ।

धार्मिक मान्यताको रुपमा हुँदै आएको बालविवाहलाई अपराधको रुपमा बुझ्न वर्तमान समयको माग भएको स्थानीयको भनाइ छ । कार्यक्रममा पण्डित तथा धार्मिक अगुवा सञ्जालका उपाअध्यक्ष नन्द प्रसाद उपाध्यायले सानै उमेरमा विवाह गर्दा शिक्षा, स्वास्थ्यमा असर पर्ने भन्दै आजका दिनदेखि ‘म बालविवाह गर्न दिन्नँ’ भन्ने प्रण गरेमा बालविवाह रोक्न सकिने बताए ।

सञ्जालका सदस्य विष्णु प्रसाद आचार्यले जातीय छुवाछुत र बालविवाह अन्त्यका लागि सामाजिक कुसंस्कारका रुपमा रहेका प्राचीन रीतिरिवाज त्याग्नुपर्ने बताए । २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई सामाजिक बहिष्कार गर्नुपर्ने धार्मिक अगुवा पाल्सी शाहीले बताए ।

नागरिक समाज सञ्जालका अध्यक्ष टिकाराज उपाध्यायले बालविवाह न्यूनीकरण गर्न टोलस्तरमा सचेतनामूलक क्रियाकलापमा जोड दिइएको बताए । सादा नेपालका फिल्ड अफिसर मंगला कुमारी उपाध्यायले परियोजनाले बालविवाह रोकथाममा गरिरहेको क्रियाकलापबारे जानकारी गराएकी थिइन् । उक्त कार्यक्रममा सहजीकरण गर्दै सादा नेपाल कालीकोटका अनुगमन तथा मूल्यांकन अधिकृत नमराज योगीले बालविवाह रोकथाममा हालसम्म भएका उपलब्धि र बालविवाह हुनुका कारण बताएका थिए ।

तपाईको प्रतिक्रिया