बाजुरा – जिल्लाकाे पुर्वी उत्तरी भेगमा रहेको कोल्टी विमानस्थलको धावनमार्ग मर्मतको काम भईरहेको छ । ६ वर्ष अगाडी कालोपत्रे गरिएको धावनमार्गमा गिट्टीहरु उप्किन थालेपछि मनकामना निर्माण सेवा काठमाण्डौले अहिले धावनमार्ग कालोपत्रे, फेन्जिङ मर्मत, कलरिङको काम गरिरहेको छ ।
कोल्टी विमानस्थलको धावनमार्गमा भ्वाङ्ग परेका र गिट्टीहरु उप्केकाले टाल्ने काम भइरहेको विमानस्थलले जनाएको छ । विमानस्थलमा जहाजहरुलाई अवतरण गर्दा सहज होस भन्ने उद्देश्यले धावनमार्गको कालोपत्रे संगै पार्किङको काम भईरहेको रहेको विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताएका छन् ।
विमानस्थलको धावनमार्गको मर्मत सकिए लगत्तै हवाई सेवा नियमित संचालनमा आउने उनले जानकारी दिएका छन् ।
पाँच सय ४० मिटर लम्वाई र २० मिटर चौडाई रहेको कोल्टी विमानस्थलमा १८ देखि २२ जनाको सिट क्षमता रहेका जहाजहरुले उडान भर्ने गरेका छन् ।
विमानस्थलको धावनमार्गमा जहाज अवतरण गर्दा निरन्तर समस्या दिँदै आएका खाल्डाहरु पुर्ने र धावनमार्गको कालोपत्रे संगै कलरिङ गरेर मर्मत भईरहेको निर्माण कम्पनीले जनाएको छ ।
सुदूर तथा कर्णाली प्रदेशको एकमात्रै जहाज अवतरणका लागि सुरक्षित स्थानका रुपमा कोल्टी विमानस्थल रहेको छ । यही बाटो हुँदै रारा, बुढीनन्दा, बडीमालिका र खप्तड जस्ता पर्यटकीय क्षेत्रमा जानका लागि यो विमानस्थल मुख्य मार्ग भएकोले यस विमान स्थलमा राज्यले आवश्यक लगानी गर्न जरुरी रहेको नागरिक समाजका अगुना जनेश भण्डारीले बताएका छन् ।
कोल्टी विमानस्थलमा नेपालगञ्ज र धनगढीबाट बाजुरा, हुम्ला, मुगु र कालीकोटका स्थानीयले सुरक्षित र सहज यात्रा गर्ने गरेका छन् । कोल्टी विमानस्थलमा हाल नेपाल वायु सेवा निगम,तारा, मकालु, र सिता, र गोमाका ट्वीनेटर जहाजले उडान भर्ने गरेको नागरिक उड्ययन कार्यालय कोल्टीले जनाएको छ ।

तिलाप्रेस । ९ जेष्ठ २०८०, मंगलवार १७:१८