सुरक्षाका दृष्टिकोणले कर्णाली प्रदेशका सात जिल्लाका करिब तीनसय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालिकोटमा रहेका छन् । कालिकोटमा ७४ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यसमध्ये, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुम पश्चिमका २१, डोल्पामा २३ र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् । जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील रहेका छन् । जसमध्ये, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, रुकुम पश्चिमका ४३, डोल्पाका २६, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।
प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपतका कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको बताएका छन् । अबको केही दिनमै मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएका छन् ।
तिलाप्रेस । ५ कार्तिक २०७९, शनिबार १९:४८