यसपटक पुष्पाञ्जली मेलाको व्यापाक तयारी भएको छ । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको पहिचान, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान“ भन्ने मुल नाराका साथ असोज १ गते घाँसे संक्रातिको अवसरमा नरहरिनाथ गाउँपालिकाको वडा नं ५ स्थित जनता मा.वि. नवदेव स्थानमा पुष्पाञ्जली शरद मेला लाग्ने भएको छ । यसपटकको पुष्पाञ्जली शरद मेलामा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेपाली काँग्रेशका कर्णाली प्रदेश उपसभापति कालि वहादुर सहकारी लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको वडा नं ५ का वडा अध्यक्ष मान बहादुर सहकारी बताए ।
वडाअध्यक्ष सहकारीले यसपटकको मेलामा सुदुरपश्चिमकी चेली रेखा जोशिलगाएतका कलाकार र कर्णाली प्रदेशका चर्चित कलाकार सर्विन वोगटी लगाएतका कलाकाहरुको प्रस्तुति रहनुका साथै भलिबल प्रतियोगिताको आयोजना पनि गरिएको छ । यस्तै, पुष्पाञ्जली मेला सुरु हुन ४ दिन बाँकी रहँदा पनि रुप्सामा करोडौको दैनिक उपभोग्यका मालसामानहरु भित्रिएका छन् । बर्षको एकपटक अर्थात असोज १ गते मनाईने पुष्पाञ्जी शरद मेलालाई लक्षित गर्दै वडा नं ४ र ५ का स्थानीय व्यापारीहरुले दैनिक उपभोग्यका माल सामानहरु लिएका हुन् ।

असोज १ देखि ४–५ दिनसम्म चल्ने मेलामा खासगरि खाद्य खुद्रा, दैनिक उपभोग्य माल सामानका लगायतका सामग्रीहरु जिते बजार, लालिघाट बजार, खुलालु बजार र डाडाँमाडु बजार देखि मालसामान व्यापारीहरुले रुप्सामा लिएका हुन् । तत्कालिन प्रधानपञ्च नैन बहादुर सहकारीले घाँसे मेलाको रुपमा सुरूवात गरेसँगै अहिले त्यो मेलामा नौलोपन ल्याउनका लागि स्थानीय सरकारले मेलालाई स्तरोन्नति गर्दै पुष्पाञ्जली शरद मेलाको रुपमा मनाउने गरेको त्यहाँका स्थानीय ले वताएका छन ।
खलापाटा, गाउँरुप्सा, अदेला, खातिरुप्सा लगायतका गाउँहरु मिलेर बनेको रुप्साको फरक पहिचान भनेकै अर्गानिक भोजनसँगै दुध, दहि र महि पाहुनाको प्रमुख रोजाई बन्नुका साथै पाहुनाका लागि विशेष स्वागतको साधन बन्दै आएको छ । साथै त्यहाँका नागरिकहरुले डोका, डाला लगायतका स्थानीय स्तरमै उत्पादित भेडा र बाख्राको उनबाट निर्मित काम्ला र फेरे (पाखी) उत्पादन गर्दै आइरहेका छन् ।
तिलाप्रेस । २७ भाद्र २०७९, सोमबार १८:५०