हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट हालसम्म सात जनाले ज्यान गुमाएका छन् । तर, स्वास्थ्य सेवा विभागले भने दुई जनाको मृत्युलाई मात्र रेकर्डमा राखेको छ ।
दुई जनाको मृत्यु भएको जानकारी हाम्रो रिपोर्टिङ सिस्टममा आइसकेको छ, थप मृत्युबारे अद्यावधिक गर्नेछौं,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा। चुमनलाल दासले भने । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरका अनुसार कैलाली र ललितपुरमा एक–एक जनाको मृत्यु पुष्टि भएको हो ।
ईडीसीडीकै एक विज्ञले भने डेंगुबाट सात जनाको मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा ६ महिला र १ पुरुष छन् । नेपाल मेडिसिटी अस्पतालमा ३८ वर्षीय पुरुष र ५९ वर्षीया महिला, भेरीमा १२ वर्षीया महिला, नेपालगन्ज मेडिकल कलेजमा २५ र ६० वर्षका महिला, सिभिलमा ४४ वर्षीया महिला र वीर अस्पतालमा ८० वर्षीया महिलाको मृत्यु भएको हो । गत साउनदेखि हालसम्म ६ हजार ७ सय ७ डेंगुको केस देखिएको छ ।
स्वास्थ्य विज्ञहरूले उपत्यकाको ललितपुर र काठमाडौंसहित १५ जिल्लामा संक्रमण महामारीतर्फ विस्तार भइरहेको चेतावनी दिएका छन् । सबैभन्दा बढी संक्रमण ललितपुर, काठमाडौं, रूपन्देही र मकवानपुरमा देखिएको छ । ‘हामी महामारीलाई परिभाषित गर्ने चरणमा छौं ।

वैज्ञानिक रूपमा भन्नुपर्ने हुँदा यसबारे विश्लेषण भइरहेको छ,’ डा।दासले भने । सन् २०१९ मा १७ हजार ९ सय ९२ केस देखिएकामा ६ जनाको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सातायता डेंगु क्लिनिक नै सञ्चालनमा छ । क्लिनिकमा लक्षण लिएर दैनिक आउने करिब दुई सयमध्ये परीक्षण गराउँदा ९० प्रतिशतमा डेंगु देखिएको डा। राजेश साहले बताए ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले हरेक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर डेंगु सार्ने लामखुट्टेको लार्भा रहेरनरहेको निरीक्षण गर्न अभियान चलाउने निर्णय गरेको छ । ‘सातामा एक पटक सबैले एक समय घरभित्र र बाहिर डेंगुको लार्भा खोजबिन गरी नष्ट गर्दा संक्रमणको कडी तोडिनेछ,’ मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले भने, ‘सफा स्थिर पानीमा पार्ने फुलबाट बनेको लामखुट्टेको लार्भा ७ दिनमा वयस्क हुने भएकाले हरेक साता उक्त चेन ब्रेक हुनुपर्छ ।’
तिलाप्रेस । २७ भाद्र २०७९, सोमबार ०८:०४