कालिकोट ।
छत्र राेका मगर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता उद्घाटन गरिएको छ।
कालिकोट सदरमुकाम मान्ममा आयोजित कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो। कार्यक्रम कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य तथा कालिकोट–जुम्ला जिल्ला संयोजक पंखबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने प्रमुख अतिथि तथा पूर्वकृषि मन्त्री कुर्मराज शाही विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रमुख जिल्ला अधिकारी भविला भट्टराई, खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाही लगायत खेलकुद क्षेत्रका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा सरोकारवालाको सहभागिता थियो।
उद्घाटन कार्यक्रममा बोल्दै अतिथिहरूले खेलकुदलाई मनोरञ्जनका रूपमा मात्रै नभई युवाको क्षमता, अनुशासन र स्वास्थ्यसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। खेलाडीको प्रतिभा पहिचान गरी अवसर प्रदान गर्न जिल्ला तहबाटै छनोट प्रक्रिया महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य पंखबहादुर मल्लले कालिकोटका प्रतिभावान् खेलाडीलाई छनोट गरी प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसरका रूपमा छनोट प्रतियोगितालाई लिन आग्रह गर्नुभयो।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वटा खेल विधा समावेश गरिएको छ। कालिकोटमा पनि विभिन्न खेल विधाबाट प्रतिभावान् खेलाडी छनोट गरिने राष्ट्रिय रेफ्री मदन कुमार शाहाले जान्कारी दिनु भयाे ।
जिल्ला स्तरीय छनोटबाट उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरीय छनोटमा सहभागी हुनेछन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले असोज २६ देखि ३१ गतेसम्म प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। कालिकोटमा पुरुष भलिबलको प्रदेशस्तरीय छनोटसमेत भाेलिदेखि बिहान ७ बजेदेखि हुने छ ।
जिल्लाबाट छनोट भएका खेलाडीहरूले प्रदेशस्तरीय छनोटमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।
यससँगै कालिकोटमा खेलाडी छनोट प्रक्रिया सुरु भएपछि जिल्लाका खेलाडी, प्रशिक्षक र खेलप्रेमीमा उत्साह थपिएको छ। स्थानीय तहदेखि जिल्लासम्म रहेका प्रतिभावान् खेलाडीलाई पहिचान गरी उचित अवसर दिन सके कालिकोटबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ।


तिलाप्रेस । १५ आश्विन २०८३, बिहीबार १९:१२