नेपाल टेलिकमको सेवा प्रभावकारी नभएको भन्दै रास्वपा कालिकोटद्वारा विवरण माग

कालिकोट कालिकोट जिल्लाका विभिन्न दुर्गम गाउँवस्तीहरूमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा नियमित नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिकोटले गम्भीर ध्यानाकर्षण गराएको छ। टेलिकमको नेटवर्क नपुगेको र उपलब्ध ठाउँहरूमा पनि लगातार ‘कल ड्रप’ हुने समस्याका कारण नागरिकहरूले निरन्तर गुनासो गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी कालिकोटले नेपाल टेलिकम जिल्ला कार्यालय कालिकोटका कार्यालय प्रमुख प्रेम सिंह विष्टलाई पत्र बुझाउँदै जिल्लाको नेटवर्क सेवा सम्बन्धी विस्तृत विवरण माग गरेको हो।

उक्त पत्र बुझाउने कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कालिकोटका जिल्ला सचिव भुपेन्द्रजंग शाही, जिल्ला कार्य समिति सदस्यहरू जीवन राज देवकोटा र धनिराम धमला, तथा रास्वपा पलाँताका सभापति लगायतका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी कालिकोटका जिल्ला सचिव भुपेन्द्र जङ्ग शाहीद्वारा हस्ताक्षरित पत्रमा जिल्लाको वास्तविक अवस्था बुझ्न र समस्या समाधानका लागि पहल कदमी लिन नेपाल टेलिकमसँग विभिन्न ४ बुँदामा विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ:
१. टावरहरूको प्राविधिक अवस्था: जिल्लाका नौवटै स्थानीय तहमा हाल सञ्चालनमा रहेका, आंशिक रूपमा चलिरहेका वा बन्द रहेका टावरहरूको स्थानगत विवरण र नेटवर्क वा इन्टरनेट कमजोर रहेका स्थानहरूको प्राविधिक अवस्था।
२. पहुँच बाहिरका क्षेत्रहरू: कालिकोटका कुन-कुन गाउँ, वडा वा बस्तीहरूमा हालसम्म पनि नेपाल टेलिकमको मोबाइल र इन्टरनेट नेटवर्कको पहुँच पुग्न सकेको छैन, त्यसको विवरण।
३. समस्याका कारण र लागत: जिल्लामा देखिएका सञ्चार समस्याहरू आउनुका मुख्य प्राविधिक तथा भौगोलिक कारणहरू र यसको दिगो समाधानका लागि आवश्यक पर्ने थप पूर्वाधार एवं त्यसको अनुमानित लागत विवरण।
४. आगामी योजनाहरू: जिल्लाको सञ्चार सेवा सुदृढ गर्नका लागि नेपाल टेलिकमबाट आगामी दिनका लागि स्वीकृत वा प्रस्तावित भएका नयाँ टावरनेटवर्क विस्तार तथा स्तरोन्नति सम्बन्धी योजनाहरूको विवरण। उक्त विवरणहरू सम्भव भएसम्म स्थानीय तह, वडा, गाउँ/बस्ती र टावरको नाम खुल्ने गरी तालिकाबद्ध रूपमा उपलब्ध गराइदिन राष्ट्रिय स्वतन्त्र पार्टी कालिकोटले माग गरेको छ। भौगोलिक रूपमा विकट रहेको कालिकोटमा सञ्चार सेवाको भरपर्दो व्यवस्था नहुँदा स्थानीय बासिन्दाहरू सञ्चार सुविधाबाट बञ्चित हुनुका साथै दैनिक कामकाजमा समेत ठूलो सास्ती खेप्न बाध्य छन्।

तपाईको प्रतिक्रिया