अविरल वर्षापछि पहिरोको त्रास-नौले सार्कीको घर नै उच्च जोखिममा

कालिकोट अविरल वर्षाका कारण पचाल झरना गाउँपालिका ८ चुकबाडीस्थित सिम बस्तीमा पहिरोको जोखिम बढेको छ। कर्णाली करिडोर नजिकै सडकबाट सुरु भएको पहिरो बस्ती तथा घरसम्म पुगेपछि स्थानीयवासी त्रसित बनेका छन्। पहिरोका कारण स्थानीय नौले सार्कीको घर नै उच्च जोखिममा परेको छ। पहिरोले घरसम्म क्षति पु¥याउनुका साथै उहाँको खेतबारीसमेत बगाएको छ। खेतीयोग्य जमिन गुमेपछि परिवारलाई आगामी दिनमा खान बस्न तथा जीविकोपार्जनमा समेत समस्या पर्ने अवस्था सिर्जना भएको सार्कीले बताउनु भयाे ।

हालसम्म पहिरोका कारण कुनै मानवीय क्षति नभए पनि घर नै जोखिममा परेपछि स्थानीयमा त्रास बढेको छ। लगातार वर्षा भइरहे पहिरो थप फैलिन सक्ने र सिमबस्तीका अन्य घरसमेत जोखिममा पर्न सक्ने स्थानीयको भनाइ रहेकाे छ।स्थानीयवासीले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहिरोको स्थलगत निरीक्षण गरी जोखिमको मूल्याङ्कन गर्न तथा आवश्यक राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्भावित मानवीय तथा थप भौतिक क्षति रोक्न स्थानीय तह जिल्ला प्रशासन र सम्बन्धित सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ।

तपाईको प्रतिक्रिया