कालीकोट : कालिकोट जिल्लाकाे खाडाचक्र नगरपालिका ४ स्थित सालडाँडा आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालयको नयाँ भवनको कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले शिलान्यास गर्नुभएको छ । सालडाँडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद आचार्यको अध्यक्षता तथा उपसभामुख न्यौपानेको प्रमुख आतिथ्यतामा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य सुरेन्द्र बहादुर शाही सुधार पूर्ववडा अध्यक्ष दानसिंह विक लक्ष्मी आचार्य लगायतको उपस्थिति रहेको थियो भने त्यस्तै नवज्योति आधारभूत विद्यालय भवनको समेत शिलान्यास गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीराम लुवारको अध्यक्षता तथा उपसभामुख न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावक जनप्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।सालडाँडा आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालयअन्तर्गत वडा नं. ४ मा भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालयबाट प्रत्येक विद्यालयलाई २० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ । उक्त बजेटबाट दुवै विद्यालयमा दुई–दुई कोठे भवन निर्माण गरिने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख न्यौपानेले भवन निर्माण हुनु मात्रै पर्याप्त नभएको भन्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा ज्ञान सिकाई आजको आवश्यकता भएको बताउँदै विद्यार्थीलाई गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्न शिक्षक अभिभावक र जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आग्रह गर्दै भौतिक संरचनासँगै शिक्षण सिकाइको गुणस्तर अनुशासन र विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सुधार देखिनुपर्नेमा जोड दिनुभयो । विद्यालयको भवन बलियो भएर मात्र हुँदैन त्यहाँबाट उत्पादन हुने विद्यार्थीको भविष्य पनि बलियो हुनुपर्छ उपसभामुख न्यौपानेले भन्नुभयो । त्यसका लागि आफूले गर्नसक्ने सम्पूर्ण पहल गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य सुरेन्द्रबहादुर शाही (सुधार)ले विद्यालयको भौतिक संरचना निर्माणसँगै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माणमा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले शिक्षामा लगानी बढाउँदै गए पनि त्यसको प्रतिफल विद्यार्थीको सिकाइ उपलब्धिमा देखिनुपर्नेमा जोड दिनुभयो । विद्यालय भवन निर्माणले विद्यार्थीको अध्ययनका लागि सहज वातावरण सिर्जना गर्ने भन्दै भवनको गुणस्तर र समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका तर्फबाट बोल्दै अध्यक्ष मीनप्रसाद आचार्य र काशीराम लुवारले विद्यालयका लागि भवन निर्माणको बजेट उपलब्ध गराएकोमा प्रदेश सरकार तथा सम्बन्धित निकायलाई धन्यवाद दिनुभयो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीको पठनपाठनमा सहजता आउने बताउँदै उहाँहरूले भवन निर्माणलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न व्यवस्थापन समितिले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक जनप्रतिनिधि र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।


तिलाप्रेस । १० भाद्र २०८३, बुधबार २०:५२