कालिकोट : नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखा र सान्नीत्रिवेणी गाउँपालिका कालिकोटको संयुक्त साझेदारीमा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल (EACH) परियोजनाअन्तर्गत स्वास्थ्यकर्मीहरूका लागि तीनदिने सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS V2) तथा औषधी स्वास्थ्य सामग्री मौज्दात पूर्वानुमानसम्बन्धी तालिम सम्पन्न भएको छ।
२०८३ श्रावण २२ देखि २४ गतेसम्म सञ्चालन भएको तालिममा सान्नीत्रिवेणी गाउँपालिकाभित्रका १२ वटा स्वास्थ्य संस्था—१ पालिका अस्पताल, ३ स्वास्थ्य संस्था र ८ आधारभूत स्वास्थ्य केन्द्र—का १५ जना स्वास्थ्यकर्मी तथा पालिका स्वास्थ्य शाखाका ३ जना गरी जम्मा १८ जनाको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य स्वास्थ्य संस्थामा सार्वजनिक सम्पत्ति तथा औषधी स्वास्थ्य सामग्रीको व्यवस्थापनलाई प्रभावकारी व्यवस्थित र तथ्यमा आधारित बनाउनु रहेको थियो। तालिममा वास्तविक समयको तथ्याङ्कमा पहुँच आपूर्ति शृङ्खलाको दक्षता अभिवृद्धि अन्य प्रणालीसँगको एकीकरण सुधारिएको योजना निर्माण दिगोपन तथा स्वास्थ्य नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा प्रणालीको उपयोगका विषयमा सहजीकरण गरिएको बताएको छ । तालिमका क्रममा स्वास्थ्यकर्मीहरूलाई PAMS V2 को प्रभावकारी प्रयोग प्रणालीको कार्यान्वयन तथा व्यवस्थापन, औषधी तथा स्वास्थ्य सामग्रीको मौज्दात प्रयोग दर र वितरणसम्बन्धी वास्तविक समयको तथ्याङ्क व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिइएको बताएको छ । साथै मौज्दात अभाव तथा अधिक मौज्दातको अवस्था न्यूनीकरण गर्न तथ्याङ्कमा आधारित निर्णय गर्ने तरिका औषधी तथा स्वास्थ्य सामग्रीको खरिद भण्डारण र वितरण प्रक्रियालाई व्यवस्थित बनाउने उपाय तथा तथ्याङ्क विश्लेषणमार्फत आवश्यक सामग्रीको माग पूर्वानुमान गर्ने विषयमा समेत अभ्यास गराइएको थियो।

तालिममा समूहकार्य प्रस्तुति छलफल तथा व्यावहारिक अभ्यासमार्फत सहभागीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गरिएको थियो। सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी रहेको र यसबाट आगामी दिनमा स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाह गर्न थप सहज हुने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा सान्नीत्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदर्शन बमले समेत आफ्नो धारणा राख्दै स्वास्थ्य सामग्री व्यवस्थापनमा तथ्याङ्कमा आधारित प्रणालीको प्रयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो।
तालिमको सहजीकरण पलाँता गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत धनप्रसाद न्यौपाने र सान्नीत्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदर्शन बमले गर्नुभएको थियो। तालिमको समन्वय तथा व्यवस्थापन सान्नीत्रिवेणी गाउँपालिका, कालिकोटका स्वास्थ्य शाखा सहसंयोजक बबिता शाही र नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाका पालिका संयोजक तपेन्द्र शाहीले गर्नुभएको थियो।


तिलाप्रेस । २७ श्रावण २०८३, बुधबार १३:०७