‘सेवा र विकासका लागि युवा’ अभियानअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कालिकोट, असार १६। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको समन्वयमा सञ्चालित ‘सेवा र विकासका लागि युवा’ अभियानअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–४ स्थित श्री महादेव माध्यमिक विद्यालय राराकाटियाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्नुका साथै अध्ययनप्रति थप प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कापी, कलम लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव रमेश कण्डेल ले ‘सेवा र विकासका लागि युवा’ अभियानमार्फत देशभरका २ हजार ५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान गरिँदै आएको जानकारी दिनुभयो। उहाँले शिक्षा नै समृद्ध राष्ट्र निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्न परिषद्ले निरन्तर अभियान सञ्चालन गरिरहेको बताउनुभयो।

“हामीले सञ्चालन गरेको यो अभियान केवल शैक्षिक सामग्री वितरणमा मात्र सीमित छैन, यसले विद्यार्थीमा आत्मविश्वास, अध्ययनप्रतिको उत्साह र उज्ज्वल भविष्य निर्माण गर्ने प्रेरणा पनि प्रदान गर्छ,” कण्डेलले भन्नुभयो। “देशको समग्र विकासका लागि शिक्षामा लगानी गर्नु सबैभन्दा ठूलो सामाजिक उत्तरदायित्व हो।”

कार्यक्रमका राष्ट्रिय सचिव हरिश बोहरा ले विद्यालय प्रशासनसँग आवश्यक समन्वय गर्दै कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने परिषद्का पूर्व केन्द्रीय सदस्य खगेन्द्र चौलागाई ले कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा विशेष योगदान पुर्‍याउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक डम्मर बहादुर शाही ले परिषद्ले सञ्चालन गरेको अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

“यस्ता सहयोगले विद्यार्थीहरूमा पढाइप्रति उत्साह बढाउनुका साथै अभिभावक र विद्यालयलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्दछ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन परिषद्सँग अनुरोध गर्दछौं,” उहाँले भन्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज बहादुर शाही ले प्राप्त शैक्षिक सामग्रीले विद्यार्थीहरूको सिकाइ वातावरणलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, शुभकालिका गाउँपालिका–४ का वडा अध्यक्ष प्रदीप प्रसाद चौलागाई ले दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको अभियानले शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

“यस्ता सामाजिक र शैक्षिक अभियानले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन टेवा पुर्‍याउँछन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्छ,” वडा अध्यक्ष चौलागाईले भन्नुभयो।

कार्यक्रमको सञ्चालन प्राज्ञिक विद्यार्थी परिषद्, लुम्बिनी प्रदेश संगठन सचिव मणिराम चौलागाई ले गर्नुभएको थियो। उहाँले अभियानको उद्देश्य, कार्ययोजना तथा सामाजिक उत्तरदायित्वबारे जानकारी गराउँदै शिक्षा क्षेत्रमा सबैको साझा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

प्राज्ञिक विद्यार्थी परिषद्ले सञ्चालन गर्दै आएको ‘सेवा र विकासका लागि युवा’ अभियानले दुर्गम तथा विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री, छात्रवृत्ति तथा आवश्यक सहयोग उपलब्ध गराउँदै शिक्षामार्फत सामाजिक रूपान्तरणको लक्ष्यलाई अघि बढाइरहेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया