प्रकाश बराल कालिकोट : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालित डिप्लोमा/पीसीएल तह सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको सार्वजनिक नतिजामा कालिकोटको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालय कर्णाली प्रदेशमै उत्कृष्ट नतिजासहित प्रथम स्थानमा परेको छ। सार्वजनिक गरिएको Result Summary अनुसार विद्यालयले ६४.७१ प्रतिशत उत्तीर्ण दर हासिल गर्दै प्रदेशका अन्य सबै शैक्षिक संस्थालाई पछि पारेको हो। कर्णाली प्रदेशका आठ वटा शैक्षिक संस्थामा उक्त बिषय अध्यापन गराईन्छ र रिजल्टमा समाबेश रहेका आठ ओटै बिद्यालयकाे नतिजामा पञ्चदेव माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गर्दा जन मोडल माध्यमिक विद्यालय, वीरेन्द्रनगर–सुर्खेत ४७.६२ प्रतिशतसहित दोस्रो तथा सहिद नेत्रलाल पोलिटेक्निक इन्स्टिच्युट, सल्यान २६.६७ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन्। त्यसपछि कर्णाली टेक्निकल स्कुल, जुम्ला २४.३९ प्रतिशत, पञ्चकोशी पोलिटेक्निक इन्स्टिच्युट, दैलेख ९.३८ प्रतिशत र वीरेन्द्र हिमालय माध्यमिक विद्यालय, जाजरकोट ४ प्रतिशत उत्तीर्ण दरसहित रहेका छन्। जाजरकोट पोलिटेक्निक इन्स्टिच्युट तथा कृष्ण संस्कृत एण्ड जनरल माध्यमिक विद्यालय, सुर्खेत बाट भने यसपटक कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
पञ्चदेव माध्यमिक विद्यालयको यो उपलब्धिलाई विद्यालयको ऐतिहासिक विरासतसँग पनि जोडेर हेरिएको छ। साविक कर्णाली अञ्चलकै पहिलो उच्च माध्यमिक विद्यालयका रूपमा परिचित पञ्चदेव माविले विगतदेखि नै शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ। सामान्य शिक्षामा मात्र नभई पछिल्ला वर्षहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षामा समेत विद्यालयले उल्लेखनीय प्रगति गर्दै आएको देखिन्छ।
विद्यालयमा सञ्चालन भइरहेको डिप्लोमा तहको सिभिल इन्जिनियरिङ कार्यक्रमले दुर्गम कर्णालीका विद्यार्थीलाई आफ्नै जिल्लामा गुणस्तरीय प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको छ। यस वर्षको प्रथम सेमेस्टरको नतिजाले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको मेहनत, विद्यार्थीको लगनशीलता तथा अभिभावकको सहयोगलाई थप पुष्टि गरेको स्थानीय शिक्षाप्रेमीहरूको भनाइ छ।
कालिकोट जस्तो भौगोलिक रूपमा विकट जिल्लाबाट सञ्चालन भइरहेको शैक्षिक संस्थाले प्रदेशका पुराना तथा सुविधासम्पन्न संस्थालाई उछिन्दै पहिलो स्थान हासिल गर्नु जिल्लाकै लागि गौरवको विषय बनेको छ। यस उपलब्धिले पञ्चदेव माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको क्षेत्रमा पनि आफूलाई अब्बल संस्थाका रूपमा स्थापित गर्न सफल भएको सन्देश दिएको छ।

शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको पञ्चदेव माध्यमिक विद्यालयले सामान्य शिक्षादेखि प्राविधिक शिक्षासम्म निरन्तर गुणस्तर सुधार गर्दै आएको छ। विद्यालयको यस सफलताले आगामी दिनमा अझ धेरै विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनतर्फ आकर्षित गर्ने तथा कालिकोटलाई दक्ष प्राविधिक जनशक्ति उत्पादनको केन्द्रका रूपमा स्थापित गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।




तिलाप्रेस । १६ असार २०८३, मंगलवार २०:०५