कालिकोट : स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारासहित कालिकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ खोपले जीवन रक्षा गर्छ, भन्ने सन्देश प्रवाह समेत गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक धनजित शाहीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश खोप समन्वय समिति सदस्य ओमप्रकाश पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मीना रावल, स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. रत्नवीर सुनार, सामाजिक विकास कार्यालयका प्रमुख अविराज शाही जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समिति संयोजक धनजित शाहीले सबै सरोकारवाला निकाय, स्वास्थ्यकर्मी जनप्रतिनिधि तथा समुदायको सक्रिय सहभागिताबाट मात्रै पूर्णखोप सुनिश्चितता र यसको दिगोपना कायम राख्न सम्भव भएको बताउनुभयो । उहाँले प्रत्येक बालबालिकालाई समयमै पूर्ण खोप उपलब्ध गराई स्वस्थ र सुरक्षित समाज निर्माणमा सबै पक्षको साझा जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहेको धारणा समेत राख्नुभयो । स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले पूर्णखोप सुनिश्चितता अभियानलाई सफल बनाउन जिल्लाका नौवटै स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुका साथै यस अभियान सफल बनाउन महत्वपूर्ण योगदान पु¥याउने सबै स्थानीय तहलाई कार्यक्रममा सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रम सञ्चालन गर्दै कटक महतले जुन बालबालिकाले पाउनुपर्ने सम्पूर्ण नियमित खोप सुनिश्चित भएपछि पालिकास्तरबाट सुरु भएको पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियान अन्तर्गत कालिकोट जिल्लालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको समेत उहाँले बताउनु भयाे ।




तिलाप्रेस । १४ असार २०८३, आईतवार १७:४७