कालिकोट — रास्कोट नगरपालिकाले बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरेपछि पालिका स्तरिय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पालिका स्तरिय खोप समन्वय समिति संयोजक तथा नगर उपप्रमुख मनिराज बरालकाे अध्यक्षता तथा विभिन्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक र सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रवक्ता तथा वडा अध्यक्ष धनबहादुर धामी जनस्वास्थ्य अधिकृत कटक महत निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज शाही वडा अध्यक्ष उदयराम आचार्य राजेन्द्रनाथ योगी मन तिरुवा कर्ण फर्साल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाेल्दै खोप समन्वय समिति संयोजक तथा नगर उपप्रमुख बरालले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगो बनाउँदै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उनले सबै सरोकारवालाको सहकार्य र सक्रियताले नगरपालिकाले यो सफलता हासिल गरेको र पालिकालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गर्न सफल भएकाे बताउनु भयाे ।
त्यस्तै जनस्वास्थ्य अधिकृत कटक महतले रास्कोट नगरपालिकाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै खोप बालबालिकाको नैसर्गिक अधिकार भएकाले प्रत्येक बालबालिकाले अनिवार्य रूपमा खोप प्राप्त गर्नुपर्ने उनले बताए। खोप कार्यक्रमकै कारणले शिशु तथा बाल मृत्युदर घटाउन उल्लेखनीय सफलता प्राप्त भएको उल्लेख गर्दै उनले स्वास्थ्यकर्मी र स्वयंसेविकाको योगदानको उच्च मूल्यांकन तथा सम्मान गर्नुभयाे । स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै जिल्लालाई समेत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने अभियान अगाडि बढिरहेको समेत जानकारी दिनुभयाे ।
त्यसेैगरी प्रतिवेदन प्रस्तुत गर्दै रास्काेट नगरपालिका स्वास्थ ्य शाखा प्रमुख जनक न्यौपानेले खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी र सुरक्षित स्वास्थ्य सेवामध्ये एक रहेको बताउनु भयाे । पूर्ण खोप सुनिश्चितताले विभिन्न सरुवा रोगबाट बालबालिकालाई जोगाउनुका साथै स्वस्थ र समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयाे । साथै उहाँले आगामी दिनमा खोप कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएकाे छ। तस्तै शिक्षा शाखा प्रमुख खेमराज शाहीले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित सबै पक्षको महत्वपूर्ण योगदान रहेको बताउदै अभियान सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद समेत दिनुभयो ।

त्यस्तै वडा अध्यक्ष मन तिरुवाले रास्कोट नगरपालिकाभित्र रहेका सम्पूर्ण बालबालिका रोगमुक्त र स्वस्थ रहून् भन्ने उद्देश्यका साथ खोप अभियान सञ्चालन भएसँगै खोपबाट रोकथाम गर्न सकिने रोगका कारण कुनै पनि बालबालिकाले समस्या भोग्न नपरोस् भन्ने लक्ष्य रहेको बताउनु भयाे ।
साथै कार्यक्रममा खाेप सम्बन्धि देउडा तथा नृत्य प्रस्तुत गरिएका थियाे ।





तिलाप्रेस । १८ जेष्ठ २०८३, सोमबार १४:०६