राष्ट्रिय स्वतन्त्र पार्टी शुभकालिका गाउँपालिकाकाे पहिलो अधिवेशन सम्पन्न  

 कालिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुभकालिका गाउँपालिका समितिको पहिलो ऐतिहासिक अधिवेशन शुभकालिका गाउँपालिका – ३ तल्लाचौरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ गाउँपालिका समिति चयन गर्दै संगठन विस्तार र सुदृढीकरणको अभियानलाई थप मजबुत बनाएको जनाएको छ।

कालिबहादुर शाहीको सभापतित्वमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा कालिबहादुर शाहीलाई सभापति चयन गरेको छ। यस्तै उपसभापतिमा सरोज धिताल, सचिवमा हरि प्रसाद जैशी, सहसचिवमा सूर्यबहादुर शाही तथा कोषाध्यक्षमा राधिका विक चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा अर्जुन सुनार, लक्ष्मीप्रसाद धिताल, रतिकला भट्टराई (चौलागाईं) र सर्जन नेपाली चयन भएका छन्। अन्य वडाका प्रतिनिधित्व सुनिश्चित गर्ने गरी थप सदस्यहरू मनोनयन गर्ने निर्णय समेत गरिएको जनाइएको छ।
अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी कालिकोटका जिल्ला उपसभापति निर्मल अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्ला सचिव दीपराज विक, गणेश उपाध्याय लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निर्मल अधिकारीले शुभकालिकामा पार्टी संगठनको औपचारिक संरचना निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिको पक्षमा काम गरिरहेको छ। शुभकालिकामा गठन भएको नयाँ नेतृत्वले जनताका अपेक्षा अनुसार संगठनलाई अझ सशक्त बनाउने विश्वास लिएको छु।

जिल्ला सचिव दीपराज विकले नवगठित समितिलाई बधाई दिँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि र स्थानीय मुद्दालाई प्रभावकारी रूपमा उठाउन आग्रह गरे। उनले पार्टीको सिद्धान्त र उद्देश्यलाई गाउँगाउँसम्म पुर्‍याउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने बताए।

नवनिर्वाचित सभापति कालिबहादुर शाहीले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै संगठनलाई एकताबद्ध र सक्रिय बनाउने प्रतिबद्धता जनाए। उनले भने, “शुभकालिकाका सम्पूर्ण वडालाई समेटेर पार्टीलाई बलियो बनाउने, युवाको सहभागिता बढाउने र जनताका समस्या समाधानका लागि निरन्तर आवाज उठाउने हाम्रो प्राथमिकता हुनेछ।

अधिवेशनमा सहभागी वक्ताहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै शुभकालिकामा वैकल्पिक राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थापित गर्न एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले शुभकालिकामा पार्टी संगठन विस्तारको नयाँ अध्याय सुरु भएको बताएका छन्।

तपाईको प्रतिक्रिया