कालिकोट — शुभकालिका गाउँपालिकाको आयोजनामा मेलमिलाप तथा न्यायिक सचेतना कार्यक्रम उद्घाटन गरिएको छ। स्थानीय तहमा हुने विवादलाई मेलमिलाप, सहमति र आपसी समझदारीमार्फत समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
न्यायिक समिति संयोजक धर्मकला शाहीको सभाध्यक्षतामा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यकाे प्रमुख अतिथ्यता , जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (सिडियाे ), जिल्ला बार एशोसिएसनका अध्यक्ष अम्ब बहादुर शाही, जिल्ला बारका कोषाअध्यक्ष, पूर्व गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं, नेकपा एमाले शुभकालिका इन्चार्ज कृष्ण प्रसाद आचार्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी, महिला समूह, युवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“न्यायमा सबैको पहुँच, समुन्नत समाजको मूल आधार” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा स्थानीय स्तरमा देखिने घरायसी विवाद, लेनदेन, साँध–सीमाना, पारिवारिक मनमुटाव तथा सामाजिक समस्यालाई अदालतसम्म नपुर्याई मेलमिलापकै माध्यमबाट समाधान गर्नुपर्ने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै न्यायिक समिति संयोजक धर्मकला शाहीले स्थानीय तहको न्यायिक समितिले नागरिकलाई सहज, छिटो र सुलभ न्याय प्रदान गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्। उनले भनिन्,
“गाउँघरमा हुने सामान्य विवाद अदालतसम्म पुग्दा समय र खर्च दुवै बढ्ने गर्दछ। त्यसैले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्नु नै समाजका लागि उत्तम विकल्प हो। समाजमा शान्ति, सद्भाव र एकता कायम राख्न सबै नागरिक सचेत हुन आवश्यक छ।
उनले न्यायिक समितिले निष्पक्ष ढंगले काम गर्दै आएको उल्लेख गर्दै कानुनी प्रक्रियामा जानुभन्दा पहिले मेलमिलापमार्फत समाधान खोज्न स्थानीयवासीलाई आग्रह गरिन्।

कार्यक्रमका वक्ताहरूले कानुनी सचेतनाको अभावका कारण साना विवादले समेत ठूलो रूप लिने भएकाले यस्ता कार्यक्रम समुदायका लागि प्रभावकारी हुने बताएका थिए। सहभागीहरूले आपसी समझदारी र सहमतिबाट विवाद समाधान गर्न सके समाजमा भाइचारा, सद्भाव र एकता कायम रहने धारणा व्यक्त गरेका थिए।
प्रमुख अतिथि गोविन्द प्रसाद आचार्यले गाउँपालिकाले नागरिकलाई न्यायमा सहज पहुँच दिलाउन न्यायिक समितिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा शान्ति र सहकार्यको वातावरण निर्माण गर्न मेलमिलाप संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताए।
शुभकालिका गाउँपालिकाले आगामी दिनहरूमा पनि वडास्तरमा यस्ता सचेतनामूलक तथा मेलमिलापसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको




तिलाप्रेस । १० जेष्ठ २०८३, आईतवार २३:०४