पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना कायम प्रतिबद्धता घोषणा कार्यक्रम सम्पन्न

कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ६ माल्कोटस्थित स्वास्थ्य चौकी माल्कोटमा कालिकोट जिल्लाको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम प्रतिबद्धता घोषणा कार्यक्रम सम्पन्न भएको छ। वडा खोप समन्वय समितिका संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष पौराम बि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित खोप सेवाको पहुँच प्रत्येक घरपरिवारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।कार्यक्रममा बोल्दै   बक्ताहरुले खोप बालबालिकाको जीवन रक्षा र रोग नियन्त्रणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुने बताएका थिए। पूर्णखोप सुनिश्चितता कायम राख्न अभिभावक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा स्वास्थ्य संस्थाबाट प्रदान गरिने नियमित खोप सेवा, खोपको महत्व, दिगोपना कायम राख्न समुदायको भूमिका लगायत विषयमा समेत छलफल गरिएको थियो। साथै आगामी दिनमा पनि प्रत्येक बालबालिकालाई समयमै नियमित खोप उपलब्ध गराई स्वस्थ, सुरक्षित र रोगमुक्त समाज निर्माणतर्फ सबै पक्ष प्रतिबद्ध भएर लाग्ने निर्णय गरिएको थियो।उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय बुद्धिजीवी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले समुदायस्तरमा खोपप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया